X

तानसेन भेलामा सहभागी १६ स्थानीय तहलाई विज्ञकाे सुझाव के छ ?

रानीमहल संवाददाता || १६ मंसिर २०७६,सोमबार १९:०७

पाल्पा – सिद्धार्थ आर्थिक कोरिडोर बनाउने उद्देश्य सहित तानसेनमा गरिएको मेलामा विज्ञहरूले सिद्धार्थ राजमार्गको सडक अतिक्रमण तत्काल हटाउनुपर्ने सुझाव दिएका छन् । सिद्धार्थ राजमार्गले छोएका ५ नं. प्रदेश र गण्डकी प्रदेशका १६ स्थानीय तहहरुको तानसेनमा भएको भेलामा विज्ञहरुले पहिले स्थानीय तहहरुको सडक अतिक्रमण हटाउन पहल गर्नुपर्ने सुझाव दिएका हुन् ।


विज्ञहरुले यहाँको पर्यटक, कृषि र औद्योगिक विकासका लागि सडकको अतिक्रमण बाधक भएको उल्लेख गरेका छन् । उक्त कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले पर्यटन विकासलाई केन्द्रमा राखेर पोखरा हुँदै लुम्विनीसम्म जोड्ने सडकको स्तरउन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।

सिद्धार्थ कोरिडोर बनाउदा अवसर भन्दा बढी चुनौती छ उहाँले भन्नुभयो मुख्य चुनौती सडक स्तरउन्नति नै हो । ३० वर्षसम्म सडक अतिक्रमण गरेर बसेकालाई हटाउन स्थानीय तहले पहल गर्नुपर्ने र त्यसले मात्र सडकलगायतका पूर्वाधार निर्माणमा केन्द्र सरकार र दातृ निकायको सहयोग हुने बताउनुभयो ।

वि.स. २०२८ सालमा यस क्षेत्रबाट लाहुरे जनशक्ति बाहिर लैजानका लागि खनेको सडक हो डा. शर्माले भन्नुभयो । पछि सरकारको आर्थिक उदारीकरणको नीतिले भारतबाट सामान गाउँमा ल्याउने सडकको रुपमा परिणत भयो । अब यसलाई गाउँमा भएको आर्थिक उत्पादन र पर्यटकलाई आकर्षित गर्ने स्थलको रुपमा विकास गर्नुपर्छ ।

उहाँले पोखरा–लुम्विनी–काठमाडौँ जोडेर पर्यटन मार्गको रुपमा अगाडि बढाउन सडकसँगै पूर्वाधार निर्माण, होटल तथा रेण्टुरेण्ट र कृषि क्षेत्रलाई जोडेर अगाडि बढ्न सकिने धारणा उहाँले राख्नुभयो ।
५ नं. प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा इश्वर गौतमले सिद्धार्थ आर्थिक कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । सिद्धार्थ आर्थिक कोरिडोरले पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण र औद्योगिक विस्तारमा जोड दिनुपर्ने उपाध्यक्ष गौतमको भनाई छ ।


योजना आयोगका पूर्व उपाध्यक्ष एवं इपीआइका अध्यक्ष डा. शंकर शर्माले पोखरा र लुम्विनी जोड्ने कोरिडोरले स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन सक्ने पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । लुम्विनी र पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडानले स्थानीय रुपमा उत्पादन भएका बस्तुलाई विदेशमा जान सक्ने वातावरण बनेको उहाँको भनाई छ । यहाँ उत्पादन भएका तरकारी, फलफुल हवाई माध्यम्बाट विदेशमा तुरुन्तै पठाउन सकिन्छ, त्यसको उत्पादनमा जोड दिनु राम्रो हुन्छ उहाँले भन्नुभयो ।


सिद्धार्थ राजमार्गसँग जोडिएका पालिकाहरूमा घट्दै गरेको आर्थिक गतिबिधिलाई बढाउन एकीकृत रुपमा कार्यक्रम गर्नुपर्ने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जोड दिनुभयो । उहाँले यस क्षेत्रमा पर्ने १५ वटा पालिकाभित्र आर्थिक गतिबिधि नबढाई समृद्धिको नारा पूरा गर्न नसकिने निष्कर्ष सहित सिद्धार्थ कोरिडोर बनाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।


डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदारप्रसाद नेपालले सिद्धार्थ लोकमार्गमा सरकारले गरिरहेको काम र भावी दिनमा गर्न सकिने सडकको योजनाका बारेमा प्रस्तुती राख्नुभयो । भेलाले सिद्धार्थ आर्थिक कोरिडोरका लागि पालिकाहरूको लुज नेटवर्क बनाउने, संयुक्त रुपमा आर्थिक गतिबिधिका कार्यक्रम बनाउने, सडक, पूर्वाधार निर्माणमा सहकार्य गर्ने र अन्य सम्भावनाको खोजी गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys