Erani Mahal
'सिद्धार्थ लोकमार्गकाे स्तरउन्नतिपछि मात्रै १६ स्थानीय तहहरूकाे विकास सम्भव'
DSC_0160

पाल्पा – सिद्धार्थ लोकमार्गसँग जोडिएका १६ स्थानीय तहहरूको भेलाले सबैभन्दा पहिले सिद्धार्थ लोकमार्गको स्तरउन्नतिमा जोड दिएको छ । राजमार्गले छोएका स्थानीय तहहरूको तानसेनमा भएकाे भेलाले विकासकाे मेरुदण्ड मुख्य सडक नै मानेर आर्थिक विकास गर्न सकिने निष्कर्ष निकालेको हो ।


सिद्धार्थ लोकमार्ग स्तरोन्नतिको काम तत्काल अगाडि बढाउनुपर्ने र त्यसबाट पर्ने सकारात्मक र नकारात्मक असरको व्यवस्थापनमा १६ स्थानीय तहहरू लाग्ने भेलाले तयार गरेको घोषणापत्रमा उल्लेख छ । तानसेनमा भएको भेलाले १० बुँदे घोषणापत्र तयार गरेर संयुक्त रुपमा सिद्धार्थ आर्थिक कोरिडोरको विकास गर्न लाग्ने पञ्तिबद्धता समेत गरेको छ ।


सिद्धार्थ लोकमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकास गर्न समन्वय समिति गठन गर्ने, विज्ञ समूह बनाउने घोषणा समेत गरिएको छ । १० बुँदे घोषणापत्रमा आपसी संवाद र सहकार्यको माध्यम्बाट द्वपक्षीय र बहुपक्षीय समन्वय र सहकार्य गर्ने उल्लेख छ ।


विकासमा नीजि साझेदारीको माध्यम्बाट अघि बढ्ने, संघीय र प्रदेश सरकारसँग विकासका सन्दर्भमा सहकार्य गर्ने, कृषि, पर्यटक, घरेलु उद्योग विकासको सम्भाव्यता अध्ययन् गरी योजना तयार गर्ने लगतयका विषय उल्लेख छन् ।

कसले के भन्नुभयाे ?

यसैबीच उक्त कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले पर्यटन विकासलाई केन्द्रमा राखेर पोखरा हुँदै लुम्विनीसम्म जोड्ने सडकको स्तरउन्नति गर्नुपर्नेमा जोड दिनुभयो । सिद्धार्थ कोरिडोर बनाउदा अवसर भन्दा बढी चुनौती छ उहाँले भन्नुभयो मुख्य चुनौती सडक स्तरउन्नति नै हो । ३० वर्षसम्म सडक अतिक्रमण गरेर बसेकालाई हटाउन स्थानीय तहले पहल गर्नुपर्ने र त्यसले मात्र सडकलगायतका पूर्वाधार निर्माणमा केन्द्र सरकार र दातृ निकायको सहयोग हुने बताउनुभयो ।

२०२८ सालमा यस क्षेत्रबाट लाहुरे जनशक्ति बाहिर लैजानका लागि खनेको सडक हो डा. शर्माले भन्नुभयो । पछि सरकारको आर्थिक उदारीकरणको नीतिले भारतबाट सामान गाउँमा ल्याउने सडकको रुपमा परिणत भयो । अब यसलाई गाउँमा भएको आर्थिक उत्पादन र पर्यटकलाई आकर्षित गर्ने स्थलको रुपमा विकास गर्नुपर्छ । उहाँले पोखरा–लुम्विनी–काठमाडौँ जोडेर पर्यटन मार्गको रुपमा अगाडि बढाउन सडकसँगै पूर्वाधार निर्माण, होटल तथा रेण्टुरेण्ट र कृषि क्षेत्रलाई जोडेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।

५ नं. प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा इश्वर गौतमले सिद्धार्थ आर्थिक कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । सिद्धार्थ आर्थिक कोरिडोरले पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण र औद्योगिक विस्तारमा जोड दिनुपर्ने उपाध्यक्ष गौतमको भनाई छ ।

योजना आयोगका पूर्व उपाध्यक्ष एवं इपीआइका अध्यक्ष डा. शंकर शर्माले पोखरा र लुम्विनी जोड्ने कोरिडोरले स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन सक्ने पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । लुम्विनी र पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडानले स्थानीय रुपमा उत्पादन भएका बस्तुलाई विदेशमा जान सक्ने वातावरण बनेको उहाँको भनाई छ । यहाँ उत्पादन भएका तरकारी, फलफुल हवाई माध्यम्बाट विदेशमा तुरुन्तै पठाउन सकिन्छ, त्यसको उत्पादनमा जोड दिनु राम्रो हुन्छ उहाँले भन्नुभयो ।

सिद्धार्थ राजमार्गसँग जोडिएका पालिकाहरूमा घट्दै गरेको आर्थिक गतिबिधिलाई बढाउन एकीकृत रुपमा कार्यक्रम गर्नुपर्ने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जोड दिनुभयो । उहाँले यस क्षेत्रमा पर्ने १५ वटा पालिकाभित्र आर्थिक गतिबिधि नबढाई समृद्धिको नारा पूरा गर्न नसकिने निष्कर्ष सहित सिद्धार्थ कोरिडोर बनाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदारप्रसाद नेपालले सिद्धार्थ लोकमार्गमा सरकारले गरिरहेको काम र भावी दिनमा गर्न सकिने सडकको योजनाका बारेमा प्रस्तुती राख्नुभयो । भेलाले सिद्धार्थ आर्थिक कोरिडोरका लागि पालिकाहरूको लुज नेटवर्क बनाउने, संयुक्त रुपमा आर्थिक गतिबिधिका कार्यक्रम बनाउने, सडक, पूर्वाधार निर्माणमा सहकार्य गर्ने र अन्य सम्भावनाको खोजी गर्ने बताइएको छ ।

कार्यक्रममा तानसेन नगरपालिकाका अधिकृत विष्णु पौडेलले सहजीकरण गर्नुभएको थियो । भेला तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षता, उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत र मधुसुधन घर्तीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्य पुरनमान बज्राचार्य, वीरबहादुर राना, जिल्ला समन्वय समितिका उपप्रमुख मीरा मरासिनी लगायतकाे समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update