Erani Mahal
सीमाका ‘घुमुवा प्रहरी’ सरुवा जान मन्दैनन्
Belhiya-border

बुटवल – प्रदेश नं. ५ का जिल्लाहरुमा भारतीय सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरीहरु सरुवा भएपनि नयाँ कार्यक्षेत्रमा जान आनाकानी गर्ने गरेको पाईएको छ । कार्यालय प्रमुखहरु सरुवा भएर एक वा दुई वर्षभित्र परिवर्तन हुने गरेको भएपनि ती कार्यालय प्रमुखहरुले तल्लो तहका प्रहरी अधिकारीहरुलाई ‘च्यानल अनुसार’ काम गर्न सजिलो हुने भएकाले अनेत्र पठाउन नचाहने प्रहरी स्रोत बताउँछ ।


प्रदेश नं. ५ अन्तरगत रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर र बाँकेको रुपौडिहा लगायतका सीमा नाकामा कार्यरत सशस्त्र प्रहरीहरुमा यस्तो ‘च्यानल अनुसार’ काम हुने गरेको स्रोतको दाबी छ ।


सीमा क्षेत्रमा हुने आर्थिक चलखेलको लागि पुराना र अनुभवी घुमुवा प्रहरीद्धारा काम गर्न सजिलो हुने भएकाले नयाँ कार्यालय प्रमुखहरुले पनि तल्लो तहका प्रहरीलाई रमाना थमाउन ढिलाई गरेका हुन् । हाल सशस्त्र प्रहरीमा घुमुवा राख्ने व्यवस्था हटाइएको छ । अदृश्य रुपमा घुमुवा राख्ने प्रचलन छ । यसअघि घुमुवाको रुपमा काम गर्दै आएकालाई उही भूमिकामा काम लगाउने गरेको पाईएको छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले भने, ‘घुमुवा राख्ने व्यवस्था छ महिनाअघि नै हटाइएको हो तर सादा पोशाकमा हिड्ने प्रहरीको काम पुरानै छ, प्रहरी पनि धेरैजसो पुरानै छन् ।’
तर सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलले यस्तो कमजोरी कसैले गरको भए छानबिन गरेर कारवाही गरिने वताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रहरी कर्मचारी व्यस्थापन गर्दा केही ढिलाई भएको हुन सक्छ तर कुनै बहानामा पनि कार्यक्षेत्र जान आनाकानी गर्न पाईदैन ।’


स्रोतका अनुसार तल्ला तहका प्रहरी जवान तथा हवल्दारहरुको पनि सरुवा निस्किरहन्छ तर बिरामी भएको वा अन्य कुनै बहानामा काजमा राख्ने र पुनः उही ठाउँमा सरुवा मिलाउने गरिएको छ । नियमतः सरुवा भएको १५ दिनभित्र नयाँ कार्यक्षेत्र जानुपर्ने हुन्छ । रुपन्देहीको भैरहवास्थित २७ नं. गण अन्तरगत काम गर्ने आधा जर्दन प्रहरीहरुले यसरी सरुवा मिलाउँदै आएका छन् ।

गत चारमहिनाको अवधिमा सरुवा भएका रुपन्देहीमा कार्यरत थापा, नेपाली, भण्डारी, अधिकारी, यादव, अर्याल थरका प्रहरी जवान तथा हल्वदारहरु नयाँ कार्य क्षेत्र नगएर ‘सेटिङमा’ बसिरहेका छन् । यी मध्ये दुईजना तालिममा गएका छन् । यी प्रहरीहरुको भक्तपुर, तनहुँ, मुगु, पर्वत, सिन्धुपाल्चोेक, हुम्ला र डोल्पा सरुवा भइसकेको छ ।


सरुवा भएका यी प्रहरी कर्मचारीलाई केन्द्रबाट विभागले समेत पत्र लेखेर नयाँ कार्य क्षेत्र पठाउन ताकेता गरिसकेको छ । तर तलका कार्यालय प्रमुखहरुको सहयोगमा उनीहरु कार्य क्षेत्र जान आनाकानी गरेको बताइन्छ । यी मध्ये केही प्रहरीहरु आर्थिक वर्ष ०६९/७० सालदेखि यहाँ छन् । सरुवा भएर केही महिना बाहिर गए भनेपनि पुनः ‘च्यानल मिलाएर’ फर्कने गरेका छन् ।
यसबारेको जिज्ञासमा सशस्त्र प्रहरी बल २७ नं. गण भैरहवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त बोगटीले आफ्नो कार्यालयमा घुमुवा प्रहरी कोही पनि नभएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘घुमुवा प्रहरी राख्न पाईदैन् हामीकहाँ कोही पनि छैन, सरुवा भएका केही प्रहरी तालिममा गएका छन् ।’ प्रहरी स्रोतका अनुसार रुपन्देहीको मर्चवार, डण्डा, सेज क्षेत्र, लुम्बिनी, एयरपोर्ट पछाडि, करौता क्षेत्र, गल्लामण्डी, अमवा नाका, सेमरपानी, भगवानपुर, बुचीवर्मा, कालिदह, मुग्ला लगायतका सीमा क्षेत्रमा यी सादा पोशाकका प्रहरीहरु परिचालित छन् ।


यी नाकाबाट कपडा, खसीबोका, कुखुरा, भैसी, मटर, केराउ, मलखाद जस्ता सामग्री नेपाल भित्रिने र गाइगोरु, मरिच, सुपारी आदी भारत निकासी हुने गरेको बताइन्छ । सीमा क्षेत्रबाट सामान भित्र्याउने तस्करहरुले यी प्रहरीलाई दैनिक तथा मासिक रुपमा रकम दिने गरेको स्रोतले बतायो ।
एसपी बोगटीले भने सशस्त्र बलमा गठित सुरक्षा महाशाखाले मात्र सुराकी गर्ने गरेको दाबी गर्नुभयाे । महाशाखाका प्रहरीलाई आफूले नचिनेको बताउनुभयाे ।

सशस्त्र प्रहरी डण्डा चेकपोष्टका प्रमुख प्रहरी नायव उपरीक्षक मानबहादुर शाहीले आफू मातहत घुमुवा प्रहरी नभएको जिकीर गर्नुभयाे । तर यहाँ पनि अनौपचारिक रुपमा दुई जना घुमुवा प्रहरी राखिएको स्रोतको दाबी छ । जनपथ प्रहरीमा भने घुमुवा राख्ने व्यस्वस्था छ । जनपथ प्रहरीका सीमा क्षेत्रका घुमुवालाई भने विवाद आउने डरले छिटोछिटो परिवर्तन गर्ने गरिएको बताइन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update