Erani Mahal
पाल्पामा एकै पटक १ सय ४१ शिक्षक विस्थापित भए
teacher

नयाँ काे नियुक्तिसँगै पुराना गए

पाल्पा- पाल्पा जिल्लामा कार्यरत १ सय ४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको हाे ।

बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताउनुभयाे । ‘१४१ जागीरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको र बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएका छन्,’ उहाँले भन्नुभयाे ।

रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिका ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहरामा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

जिल्ला समन्वय समिति, लेखा समिति सदस्य, प्रमुख जिल्ला अधिकारी, शिक्षक पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिको रोहबरमा स्थायी शिक्षकलाई नियुक्ति दिइएको हो ।

सो अवसरमा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, शिक्षक महासङ्घ प्रतिनिधि देवीप्रसाद भट्टराई, जिल्ला शिक्षा समितिको तर्फबाट धनेन्द्रराज घिमिरेलगायतले नयाँ शिक्षकलाई स्थायी नियुक्ति प्रदान गर्दै लगनशील भएर शिक्षण कार्यमा तल्लीन रहन आग्रह गर्नुभयाे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update