Erani Mahal
युएईमा रहेका नेपालीद्वारा ज्यान गुमाएका चापाकोटका मधुसुदनको परिवारलाई रकम प्रदान
77054451_1255208877998935_3375990267709489152_n

पाल्पा - रोजगारीको सिलसिलामा युएईमा ज्यान गुमाएका स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका ८ माडीका मधुसुदन पाण्डेको परिवारलाई युएईमा रहेका नेपालीले सङ्कलन गरि पठाएको रकम प्रदान गरिएको छ । युएईमा लुलु कम्पनीमा कार्यरत पाण्डेको गत साउन १९ गते युएईमा ज्यान गएको थियो । आफुसँगै काम गर्ने साथीको निधन र घरपरिवारमा आर्थिक अबस्था कमजोर भएकोले त्यहाँ कार्यरत नेपालीहरुले थोरै थोरै रकम उठाएर सङ्कलन भएको ६ लाख ७२ हजार ५ सय रुपँया पाण्डेको परिवारलाई बुझाएको हो ।

लुलु कम्पनीमा कार्यरत पाल्पाका बेद प्रसाद अर्याल र खेम थापाको नेतृत्वमा पाण्डेले नै काम गर्ने कम्पनी र लुलु कम्पनीकै विभिन्न ब्रान्समा कार्यरत नेपालीहरुले ज्यान गुमाउन पुगेका पाण्डेको घरपरिवारलाई राहत होस् भन्ने हेतुले सङ्कलन गरेको रकम पाण्डेको घरमै पुगी हस्तान्तरण गरेको हो ।

सो रकम मध्ये ३ छोराछोरीलाई २/२ लाखको दरले ६ लाख रुपँया चापाकोटमा रहेको गण्डकीबेशी बचत तथा त्रृmण सहकारी संस्थामा ३ जनाको खाता खोली बचत खातामा राखिएको र अन्य ७२ हजार ५ सय रुपँया घरखर्च चलाउन पाण्डेका श्रीमती शोभा पाण्डेलाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै चापाकोट नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष नबराज श्रेष्ठले अफ्ठ्यारोमा परेको नेपालीलाई नेपालीहरुले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँँले घरपरिवारलाई राम्रो गरि पाल्छु भन्ने मनसायले विदेश गएका युवाको लास बाकसमा ल्याउनुपर्ने बाध्यताका बिच अब परिवारले शोकलाई शक्तिमा परिणत गर्न आग्रह गर्नुभयो ।

गण्डकीबेशी बचत तथा त्रृmण सहकारी संस्थाका प्रबन्धक हरि प्रसाद डोटेलले समस्यामा परेको घरपरिवारको अबस्था हेरीकन उहाँको परिवारलाई सहयोग गर्नं तत्पर रहेको बताउदै दुःख सुखमा सहकारी सधैं साथी बन्ने बताउनुभयो । संयोजन गर्नुभएका सीता डोटेलले विदेशीन बाध्य एक नेपालीले अर्काे नेपालीको दुःखमा सहयोग गर्ने भावना हरेकका लागि पाठ भएको बताउदै बेला मौका युएईमा आइपर्ने यस्ता घटना र दुर्घटनामा नेपाली युवाहरुको एक्यबद्धता र सहयोगी भावनाको कदर गर्नुभयो । आफ्नो र परिवारका लागि कमाउन गएका नेपालीले अर्काे नेपालीका दुखमा मलमपट्टी लगाएको बताउदै ज्यान गुमाउन पुग्नुभएका मधुसुदन पाण्डेको परिवारमा समवेदना दिदै रकमको सही सदुपयोगको आग्रह गर्नुभयो ।

विदामा आउनुभएका सिमका बिष्णु सुनारले नेपालीहरुले सामाजिक सञ्जालमा ग्रुप पेज बनाएर सहयोगका लागि आग्रह गरि साथीहरुबाट रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । विगत ९ बर्षदेखि कार्यरत पाण्डे पछिल्लो समय झण्डै डेढ बर्ष अघि घर आएर जानुभएको थियो । कामबाट आएर सुत्नुभएका पाण्डेको सुतेकै अबस्थामा निधन भएपछि नेपाली संस्था र दुतावासको प्रक्रिया लगत्तै केही दिनमा नै शब ल्याएको थियो ।

३ छोराछोरीको अभिभावक र कमाउने सहाराको नै विदेशमा ज्यान गएपछि त्यहाँ कार्यरत नेपालीले सो रकम उठाएर सहयोग गरेका हुन् । पाण्डेका श्रीमती र कक्षा ८ मा पढ्ने छोरा प्रशान्त, कक्षा ६ मा पढ्ने छोरी प्रतिभा र कक्षा ३ मा अध्ययनरत कान्छो छोरा प्रताप रहेका छन् । सोही अबसरमा चापाकोट नगरपालिका वडा नम्बर ८ का वडासदस्यहरु रत्न प्रसाद बराल, राजु कुमाल, वडा सचिव गंगा बहादुर बि.क, जीवन डोटेल, सिटी मेडिकल हलका सञ्चालक अमृत काफ्ले, स्थानीय सामाजिक व्यक्ति, सुआहारा कार्यक्रमका प्रतिनिधि तथा पाण्डे परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update