Erani Mahal
नेपालमै कम उमेरका कार्यालय प्रमुख पोखरेल भन्नुहुन्छ : 'समाज परिर्वतन गर्न सरकारी जागिरे भएँ'
78261455_2558948154196840_7990111936320634880_n

पाल्पा– लोकसेवा आयोगको जटिल पाठ्यक्रम र प्रक्रिया पारगरेर सरकारी सेवामा पहुँच पुर्याउन प्रायः मानिसहरुलाई फलामको च्यूरा चपाए जस्तै हुने गर्दछ । लोकसेवा आयोग पास गरेर सरकारी जागिर खाने युवाहरुको धोको र रहर हुने गर्दछ १६ वर्ष पुगेपछि ४० वर्ष नपुग्दासम्म सरकारी सेवामा जागिर खान तम्सिएका युवाहरुको लाइन हामीले देख्न सक्दछौं तर यस्तै युवाहरुको लाइनमा २२ वर्षे युवामै राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतमा नाम निकालेर कम उमेरको कार्यालय प्रमुख बन्नु भएको छ गुल्मी जैसीथोकका सागर पोखरेल ।


नेपालमा जागिर नभएर विदेश भौतारिएका युवालाई गतिलो उदाहरणका पात्रका रुपमा रहनुभएको गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं. ४ जैसीथोकमा आमा जमुना पोखरेल र बाबु लक्ष्मण पोखरेलको कान्छो छोराको रुपमा २०५२ साल मंसिर २० गते जन्मनु भएका पोखरेल कम उमेरमा अधिकृतमा नाम निकाल्ने युवा र कार्यालय नै हाक्ने कम उमेरका कार्यालय प्रमुखको रुपमा नेपालमै सायद प्रथम हुनुहुन्छ होला ।


२२ वर्षको उमेरमा अधिकृतमा उत्कृष्ठ टप टेन भित्र नाम निकालेर कम उमेरको कार्यालय प्रमुख बनेर ७ महिना पहिले करदाता सेवा कार्यालय पाल्पामा आउनु भएका पोखरेल निजामति कर्मचारीमा सबैभन्दा कम उमेरका कार्यालय प्रमुख समेत बन्नुभएको छ । उहाँले २०७५ साल कात्तिक ४ गते अधिकृतमा नियुक्ति बुझेर तालिम सक्काएपश्चात करदाता सेवा कार्यालय पाल्पाको कार्यालय प्रमुख (कर अधिकृत) भएर जिम्मेबारी बहन गर्नुभएको छ ।


एमविए सम्मको अध्ययन गर्नुभएका पोखरेलको व्यवस्थापनको विषय भएकाले उहाँले बैंकिङ्ग क्षेत्रमा जागिर खानुपर्ने हो तर बैंकिङ्ग क्षेत्रमा कामबोझ र खटान बढी हुनेभएकाले एउटा निश्चित संस्थाको जागिरे हुनुभन्दा समग्र राष्ट्रको विकास र जनताको सेवा गर्दै सामाजिक रुपान्तरणका लागि सार्वजनिक पद निजामति कर्मचारीतर्फ आर्कर्षित भएको पोखरेलले रानीमहलसँगको कुराकानीमा बताउनुभयो ।

बै‌‌कमा इन्टर्न गर्दा नै बै‌क क्षेत्रकाे मेहनत र खटानले वाक्क भएर निजामति सेवामा अावेदन दिएकाे पाेखरेलले बताउनुभयाे । नेपालमा समाज परिवर्तनका लागि निजामति सेवाबाट नै सम्भव भएकाे उहाँकाे तर्क छ ।


नेपाल सरकार अर्थमन्त्रालय मातहतका ५८० कार्यालयहरु मध्ये पोखरेल कम उमेर भएको कार्यालय प्रमुख हुनुहुन्छ सायद पछिल्लो जानकारी अनुसार सरकारी सेवामा लागेका अधिकृतहरुमा कम उमेर समूहको अधिकृत कार्यालय प्रमुख भएको पनि उहाँ नै प्रथम हुनुहुन्छ होला हामीसँगको कुराकानीमा उहाँले भन्नुभयो, कम उमेरमै कार्यालयको जिम्मेबारी बहन गर्दा आफूलाई थप आत्मबल र उर्जा प्रदान भएको छ ।


लोकसेवा आयोगमा फारम भर्दा विविएको ट्रान्सकिप्ट नआएर केही असहजता भएता पनि उहाँले असहजतालाई सहजतामा परिणत गर्दै आफ्नो समूहमा उत्कृष्ट १० भित्र नाम निकाल्न सफल भएको बताउनुभयो । उहाँले फारम भरेर परीक्षा दिएको पहिलो चरणमै अधिकृतमा नाम निकाल्न सफल हुनुभएको हो ।


सामान्यज्ञान र बौद्धिक परिक्षण (आईक्यू)का बढी दख्खल भएका पोखरेलले लोकसेवा आयोगमा लगाब र मेहनत भएमा एकै पटकमा पनि सफलता प्राप्त गर्न सकिने बताउनुहुन्छ । उहाँले निजामति कर्मचारी भित्रको व्यवसायिक विकास र राजस्व प्रशासनको सुधारमा आफूले सक्दो प्रयास थाल्ने बताउनुभयो । उहाँले क्षमता अनुसारको कार्यसम्पादन गर्ने वातावरण भएमा नेपालको निजामति सेवालाई थप प्रभावकारी बनाउन सकिने समेत बताउनुभयो ।


लोकसेवा तयारी गर्ने विद्यार्थीहरुलाई दैनिक घटनाक्रमलाई अध्ययन, विश्लेषण भन्दा पनि बुँदागत (बुलेटमा) लेख्ने र सबै विषयवस्तुको ज्ञान लिएमा सफलता प्राप्त गर्न सकिने सुझाव दिनुहुन्छ । उहाँले आफूले अझै पनि देशको विकासमा केही गर्ने अठोट र उत्साह भएकाले सरकारी सेवामा त्यो उत्साह प्राप्त हुने बताउनुभयो ।


तीन भाई र आमाबुवा सहित पाँच जनाको परिवार रहनुभएको पोखरेलका आमाबुवा दुवै जना शिक्षक हुनुहुन्छ । उहाँले समाजमा रहेका कुरिति, विसंगती र विकृतिलाई अन्त्य गर्नका लागि सरकारी सेवा नै उत्तम भएकाले त्यसलाई रोजेको बताउनुहुन्छ । समाजमा रहेको नकारात्मक धारणा र समाजको आमूल विकासमा युवाहरुको भूमिका महत्वपूर्ण भएकाले स्वदेशमै श्रमगर्न समेत अन्य युवाहरुलाई उहाँको आग्रह छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update