Erani Mahal
रैनादेवीकाे न्वागी पर्वकाे महत्व
Rainadevi-palpa2019-11-23-04-11-55

भुवन श्रेष्ठ, रैनादेवीको न्वागी पर्व : पश्चिम पाल्पाको साविकको भुवनपोखरी गाविस-९ गोखुङ्गामा अवस्थित रैनादेवी मन्दिर पाल्पा, गुल्मी र अर्घाखाँची लगायत यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो । पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको संगमस्थलको रूपमा रहेको यो मन्दिरमा विशेष गरि न्वागी पर्वमा ठूलो मेला लाग्ने गर्दछ । लुम्बिनी अञ्चलका धेरैजसो जिल्ला हरूमा गोखुङ्गाको रैनादेवीको स्थान स्थापना गरेर पुजा गर्ने गरेको पाइन्छ र नयाँ अन्न भित्र्याउदा यहाँ कै न्वागी पर्व लाई मान्ने गरिन्छ ।

यस्ता तथ्यहरूले परापूर्वकालमा रैनादेवीको प्रचार-प्रसार पश्चिम नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत रहेको देखिन्छ । तर पछिल्लो समयमा प्रचार-प्रसारको कमीले यो क्षेत्र ओझेलमा परेको स्थानीयबासीको गुनासो छ। मन्दिरमा पृथ्वी नारायण शाहकालीन हातहतियार र खड्ग, ताम्रपत्र र रैनादेवीको आफ्नै मालश्री रहेको छ । मन्दिरमा अक्षता कुट्नको लागि जङ्गलको बीचमा ढिकी राखिएको छ भने धुपका लागि कोलको व्यवस्था गरिएको छ ।

मन्दिर सञ्चालनार्थ परापूर्वकालदेखि स्थानीय राजा रजौटाहरूद्वारा गुठीको व्यवस्था गरी मगर जातिका पुजारीले पूजा आजा गर्ने व्यवस्था छ । यस मन्दिरको वरिपरि दुर-दराजका गाउँहरू सम्म कार्तिक महिनामा धानबाली स्याहारी नयाँ अन्नको प्रसाद(अक्षता) देवीलाई चढाई मात्र दही चामल मिलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा चलिआएको छ । सोही अक्षता देवीलाई चढाउने पुजा कार्यक्रमलाई न्वागी पर्व भन्ने गरिएको छ ।

न्वागी मनाउने परम्परा यसक्षेत्रमा कहिले देखि सुरुभयो भन्ने कुनै प्रमाण नभेटिएपनि अन्न भित्र्याउन कार्तिक १७ गतेका दिन विधि पूर्वक धामी झाँक्रीद्वारा देवीसँग सोधी प्रत्येक कार्तिक २३, २५, २७ र २९ गतेमध्ये एक दिन धान काटने (मुठी लाने) गरिन्छ र सोही दिन देखिे ११ औं दिनका दिन देवीलाई पशुपंक्षीको भाकल दिइन्छ । यसपालीको न्वागी पर्व यहीँ मंसिर ०९ गते परेको छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ ।

श्री रैनादेवी माताकी जय !
श्री रैनादेवी माताले हामी सबैको रक्षा गरुन् !!
ऎतिहासिक न्वागी पर्वको हार्दिक मंगलमय शुभकामना !!!

प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update