Erani Mahal
पाल्पामा सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया
DSC_9897

पाल्पा – राष्ट्रिय सूचना आयोगको आयोजना र जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमिल्सिनाले सूचनाको हक कार्यान्वयन गर्न आनाकानी नगर्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । आयुक्त तिमिल्सिनाले सूचनाको हक कार्यान्वयन गर्न बनेका, ऐन र कानुनको बारेमा सहभागीलाई जानकारी दिनुभयो ।


सूचनाको हक कार्यान्वयन गर्ने दायित्व सरकारी निकायलाई मात्र होइन, गैरसकारी निकाय, पार्टी, संघसंस्थाको समेत भएको बताउनुभयो । उहाँले स्थानीय तह बनेपछि सूचनाको हक कार्यान्वयनमा आनाकानी भईरहेको बताउनुहुँदै जनतालाई सूचना दिएमात्र जनताको प्रतिनिधि बलियो हुने जिकिर गर्नुभयो ।

सूचनाको हकसम्बन्धी अन्तरक्रियामा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, पत्रकार, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिरा मरासिनी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले सूचनाको हक स्थापित गर्न सबै क्रियाशिल हुनुपर्ने धारणा राख्नुभयो । जिल्लामा सरकारी निकायले सूचना दिन आनाकानी गरेको, पत्रकारले समेत सूचना नपाएको, हक कार्यान्वयन गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव आएको थियो ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, बरिष्ठ पत्रकार मेघराज शर्मा, नागरिक समाज पाल्पाका अध्यक्ष बासुदेव अर्याल, तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापा, गैरसरकारी संस्था महासंघ नेपाल पाल्पाका सचिव ठाकुर लोहागुन, पत्रकार माधव अर्याल, किरण कौशललगायतले सुझाव तथा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रम पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update