Erani Mahal
झुम्सामा प्राविधिक शिक्षा संचालन गर्न दान महायज्ञ संचालन हुने
DSC_9850

पाल्पा – तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा यही मंसिर ११ गतेदेखि श्रीमद् भागवत ज्ञानमहायज्ञ हुने भएको छ । प्राविधिक शिक्षा संचालनका लागि झुम्सामा एक साता महायज्ञ गर्न लागिएको हो ।

पाल्पामै पहिलो पटक १८ महिने अटोमोबाइल्स विषयको प्राविधिक शिक्षा निरन्तर संचालन गर्न महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष एवं तिनाउ–३, का वडा अध्यक्ष प्रेम पाण्डेले जानकारी दिनुभयो ।

आइतबार ज्ञान महायज्ञको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समय बढ्दै गरेको शैक्षिक बेरोजगारलाई कम गर्न दोभानमा प्राविधिक धारको शिक्षा संचालन गरिएको जानकारी दिनुभयो । उहाँले महायज्ञ आफैमा पुण्यको काम भएको बताउँदै अझ त्यसमाथि शिक्षाको काम झनै पुन्यको काम भएकाले सबैलाई दानयज्ञमा सहभागी हुन आग्रह गर्नुभयो ।

तस्विर : अनिल लिगल ।

महायज्ञ मूल आयोजक समितिका अनुसार यज्ञमा पण्डित दीनबन्धु पोखरेल र ध्रुबशरण बस्यालले संगीतमय कथा वाचन गर्नुहुनेछ । महायज्ञमा करिब ३० लाख खर्च हुने र डेढ करोडसम्म दान संकलन हुने अपेक्षा गरिएको छ ।

तिलोत्तमा माध्यमिक विद्यालयमा हाल २२ जना छात्रहरुले अटोमोबाइल्स विषयको अध्यनन् गरिरहेका छन् । यो विषय निरन्तर र दिगो रुपमा संचालन गर्नका लागि महायज्ञ गर्नु परेको विद्यालयका प्रधानाध्यापक झपेन्द्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षाका लागि ७ करोड ४१ लाखको गुरुयोजना बनिसकेको छ । त्यसका लागि भवन बनाउन र अन्य कार्यमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो ।

तिनाउ गाउँपालिकामा अहिले हरेक वडामा ५०/५० लाखका गौरबको योजना संचालन भईरहेको बताउनुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले वडा नं. ३ ले गौरवको योजना अन्तर्गत चालु वर्षमा प्राविधिक शिक्षा संचालन गर्न लागेको बताउनुभयो । महायज्ञ यही २०७६ मंसिर ११ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update