Erani Mahal
'रैनादेवी'लाई स्थानीय र प्रदेश सरकारकाे सहकार्यमा व्यवस्थित गरिने
Rainadevi-palpa2019-11-23-04-11-55

पाल्पा - पाल्पाको रैनादेवि छहरा गाउँपालिकास्थित वडा नं. ३ मा रहेको रैनादेवि मन्दीरलाई कसरी थप ब्यवस्थित गर्न सकिन्छ भन्नेबारे वृहत अन्तरक्रिया गरिएको छ ।

शुक्रबार मन्दीर परिसरमा नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले ऐतिहासिक महत्व बोकेको रैनादेवि मन्दीरलाई आवश्यकता अनुसार विकास गर्न नसकिएको भन्दै अब स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यसलाई ब्यवस्थित गरिने बताए ।

कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तुलाराम घर्ती (बसन्त) ले हालसम्म स्थानीय सरकार र प्रदेशको पहलमा यसको थप विकास गरिने बताउनुभयो । ऐतिहासिक महत्वको मन्दीरलाई व्यवस्थित गर्न नसक्दा यसको प्रचार प्रसार पनि हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । यसको विकास गर्न प्रदेश सरकारमा आफूले सक्दो पहल गर्ने उहाँको भनाई थियो ।

पूर्व सांसद यादवबहादुर रायमाझीले सामूहिक प्रयासले मात्र यसको बिकास गर्न सकिने भन्दै मन्दीरको उचित संरक्षणको गर्न पहिलो प्रयास स्थानीय सरकारले नै गर्नुपर्ने बताउनुभयो । वडा नं. ३ का वडा अध्यक्ष लालबहादुर दर्लामीले यसबर्ष न्वागी पर्वको अवसर पारेर यही मंसिर ९ र १० गते विविध कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

९ गते साहित्य तथा सोरठी नाच प्रतियोगिता गर्ने तयारी भएको बताउनुभयो । उत्कृष्ठलाई पुरस्कृत गरिने र सहभागिलाई पनि केही रकमको ब्यवस्था गरेको दर्लामीले उल्लेख गर्नुभयो । १० गतेको समापन कार्यक्रम प्रदेशका पर्यटन मन्त्री लिला गिरीले गर्ने उहाँले जानकारी दिनुभयो ।

मन्दीर संरक्षण विकास समितिका अध्यक्ष भेषराज पन्थीले यस वर्षको न्वागी मेला विषेश हुने भएकाले सहभागिताको लागि विभिन्न प्रचारका काम गरिरहेको बताउनुभयो ।

९ बहिनी देविमध्य जेठी देवि भनेर चिनिने देवि उत्पत्ति भएको किम्बदन्ती छ । तीन सय वर्ष अघि यहाँका एक किसानको गाईले यहाँ दुध चढाउने गरेको र उक्त ठाउँमा देवि उत्पत्ति भएको अध्यक्ष दर्लामीले बतानुभयो ।

नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, मन्दीर व्यवस्थापन समिति सदस्यहरु गोविन्द लम्साल, भरतमणी लम्साल, महासंघ सचिव भुवन रायमाझी लगायतले बोल्दै रैनादेविका विकासमा सामूहिक पहल जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update