Erani Mahal
'बस्यालकाे निधनले पार्टी र समाजलाई क्षति'
daya-sok-sava1

पाल्पा – जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधनमा तानसेनमा श्रद्धाञ्जलीसभा गरिएको छ । प्रमुख बस्यालको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा बिहीबार दिउँशो निधन भएको थियो ।


श्रद्धाञ्जली सभामा ५ नं. प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले समृद्धिको अभियान्ता रहनुभएका बस्यालको निधनले पार्टी र समाजका लागि क्षति पुगेको बताउनुभयो । चौधरीले जीवन रहदासम्म बस्यालले सादगी र निस्वार्थभावमा समाज र देशका लागि योगदान गरेको चर्चा गर्नुभयो ।


चौधरीले पार्टी नेता, जनता र कार्यकर्ताले बस्यालले अनुशरण गरेको बाटो अबलम्बन गरेमात्र उहाँप्रति साचो अर्थमा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय, अर्का केन्द्रीय सदस्य तुलाराम घर्तीमगर बसन्त, केन्दीय सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले कम्युनिष्ट पार्टीको जिम्मेवारीमा रहेर लामो समय काम गर्नुभएका बस्यालको निधनले पार्टीलाई अपूर्णीय क्षति पुगेको बताउनुभयो ।


श्रद्धान्जलीसभामा पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बस्यालको अन्तिम संस्कार शुक्रबार राम्दीघाटमा गरिएको परिवार स्रोतले जनाएको छ ।


नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य समेत रहनु भएका बस्यालको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भईरहेको थियो । उपचारको क्रममा फोक्सोमा पानी भरिएको देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।


बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्थ्यो । वि.स. २०७३ सालमा भएको स्थानीय तहको निर्वाचनबाट तत्कालित नेकपा एमालेको तर्फबाट बस्याल जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । बस्यालको निधनमा शुक्रबार शोक व्यक्त गर्दै पाल्पाका दश वटै स्थानीय तह, विद्यालय तथा सङ्घसंस्थामा समेत बिदा गरिएको थियो ।


मुख्यमन्त्री शंकर पोखरेल, नेपाली कांग्रेस, जनमोर्चा, राप्रपा प्रजातान्त्रिक, जिल्ला समन्वय समिति, तानसेन नगरपालिका, पाल्पाका अन्य स्थानीय तहलगायतका संघसंस्थाले बस्यालको निधनमा वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update