Erani Mahal
जिल्ला समन्वय समिति पाल्पाका प्रमूख बस्यालकाे उपचारकाे क्रममा निधन
Dayaraj-Basyal-1

पाल्पा– जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको विहिवार असामयीक निधन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य समेत रहनु भएका पाल्पाका अग्रज बामपन्थी नेता बस्यालको काठमाण्डौंमा उपचारकाे क्रममा निधन भएको नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिनुभयाे ।


बस्यालको बिहीबार दिउँशाे मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टर काठमाडौँमा उपचारको क्रममा निधन भएको हो । युनाइटेड मिशन अस्पतालमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा पानी भरिएको देखिएपछि काठमाडौँ लगिएको परिवारले जनाएको छ । बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्थ्यो ।

२००९ सालमा बगनासकाली ६ यम्घा थामडाँडामा जन्मनुभएका बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन बिस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । एमए विएड सम्मको अध्ययन बस्यालले लामो समय शिक्षण सेवा, दर्लमडाँडा माध्यविक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, तानसेन चिलाङदी राम्दी सडकको अध्यक्ष भएर सामाजिक क्षेत्रको समेत अगुवाइ गर्नुभएको थियो ।

बस्यालकाे फेसबुक पेजबाट ।


शिक्षक आन्दोलन र पार्टी राजनीतिमा लागेको भन्दै पञ्चायतले शिक्षण सेवाबाट बर्खास्त गरेपछि २०४३ सालमा जनपक्षिय उमेदवार बन्नुभएका बस्यालको चुनाव चिन्ह रेडियो आज धेरै पाल्पालीले बिर्सिएका छैनन् जिल्ला पञ्चायतको जनपक्षीय उपसभापति र उपसभापति पदमा रहँदा विद्रोह गरेर प्रजातन्त्रको पक्षमा लाग्नुभएको थियो । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य भएर जनसेवामा संलग्न रहनुभएका बस्याल इमान्दार र निष्ठावान नेताको छवि बनाउनुभएको थियो ।

बस्यालको शव आज रातीसम्म तानसेन ल्याउने, भोली विहान निवास र त्यसपछि जिल्ला समन्वय समितिको प्राङ्गडमा अन्तिम श्रद्धान्जलीका लागि राखिने पारिवारिक स्रोतले जनाएको छ । बस्यालका २ छोरा र २ छोरी रहेका छन् ।

बस्यालको निधन पश्चात उहाँका शुभचिन्तक तथा आपन्तजनहरुले सामाजिक सञ्जाल मार्फत समवेदना दिएका छन् । यस्तै नेपाल कम्यूनिष्ट पार्टी पाल्पाले समेत एक शोध बक्तव्य निकालेर समवेदना दिएको छ । वश्यालको निधनले पाल्पाको राजनीतिमा एक असल अभिभावक गुमाएकाे नेकपाका नेता तथा कार्यकर्ताले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update