Erani Mahal
लुम्विनीमा आयोजित न्यूज फेस्टिवलमा १६ बुंदे निष्कर्ष
75550406_804263013323691_6518788644747083776_n

लुम्विनी - लुम्बिनीमा आयोजित न्यूज फेस्टिवल १६ बुंदे निष्कर्ष निकाल्दै समापन भएको छ । ‘संघीयतामा संचार, समृद्धिका लागि मोफसल नै मुलधार’ भन्ने नाराका साथ तीन दिन चलेको न्युज फेस्टिवलबाट बिभिन्न निश्कर्षसहित लुम्बिनी निष्कर्ष पत्र सार्वजनिक गरिएको छ ।

घोषणा पत्रमा नेपालको राष्ट्रियता, एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकता प्रति सदैव राष्ट्रिय सहमति कायम गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक बर्ग, वुद्धिजिवी, पत्रकार, गैरसरकारी संस्था एवं सर्वसाधारण नेपालीलाई आव्हान गरिएको छ ।

सूचनाको हक सम्बन्धी कानूनलाई प्रेस जगतमा सीमित नराखी जनताका अन्य मौलिक अधिकारको प्राप्ती तथा जनअधिकारको रुपमा परिमार्जन गरी सूचनालाई पहुँच सँग, पहुँचलाई विकास सँग, विकासलाई समृद्धि सँग गाँस्ने मूलआधार बनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।

त्यसैगरी सञ्चार माध्यमले आम जनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने र चेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्न सक्ने क्षमता राख्ने कुरामा कुनै बिबाद नभएको र नेपालमा राजनीतिले समाजका अन्य कुरा भन्दा प्राथमिकता पाउदछ संचार क्षेत्र पनि यसबाट भिन्न नभएको उल्लेख गरिएको छ ।

त्यस्तै ४२ वर्षअघि निर्मित लुम्बिनी गुरुयोजना यथासक्य कार्यान्यवन गर्न संघीय सरकार र लुम्बिनी विकास कोषलाई महोत्सवले आग्रह गरेको छ भने शाक्यमुनी गौतमबुद्ध तथा कनकमुनि एवं क्रकुच्छन्द बुद्ध जन्मसँग सम्बन्धित सबै स्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह लगायत स्थलको संरक्षण, प्रवर्द्धन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दै यस विषयलाई निरन्तर रुपमा मिडियामार्फत उजागर गर्न महोत्सवले प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा नयाँ शासकीय अभ्यासका रुपमा रहेको संघीयतालाई सफल पार्नका लागि पत्रकारिताका नयाँ माध्यमबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गराउन, देखिएका कमीकमजोरीलाई निरन्तर औंल्याउन र आवश्यक सुझाव दिन महोत्सवले आग्रह गरेको छ ।

साथै नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई प्रवर्द्धन गर्न आ–आफ्नो मिडियाबाट सहयोग गर्ने महोत्सवले प्रतिबद्धता व्यक्त गर्दै सरकारी सञ्चारमाध्यम एवं निजी सञ्चारमाध्यमलाई जनशक्तिको व्यवस्था र विषयगत हिसाबले समावेशी बनाउन सम्बन्धित पक्षलाई आह्वान गरेको क्लबका अध्यक्ष दिपेश पछाइले बताउनुभयो ।

सरकारद्वारा सत्र्चालित संचार माध्यमहरुको पुनर्संरचना गरी ग्लोबल तथा नाफामुखी मिडियाको दुष्प्रभाव र एकाधिकार घटाउने, अर्को प्रभावकारी उपाय साना, स्थानीय सामुदायिक तथा जनताद्वारा संचालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अबलम्बन गर्न संघ,प्रदेश र स्थानिय सरकारलाई महोत्सबले आग्रह समेत गरेको छ ।

मेलामा पत्रकारहरुले भोग्नु परेको समस्या,पत्रकारहरुको पारिश्रमिक, संघीय संरचनामा सञ्चार गृहहरुको भूमिका र न्यू मिडियाको रुपमा आएको अनलाइन पत्रिकाहरुको भविष्य र विश्वसनियताको बारेमा समेत सञ्चार क्षेत्रमा लामो अनुभव प्राप्त गरेका विज्ञ र सञ्चार गृहहरुका सम्पादक तथा प्रमुखहरुसँग छलफल तथा अन्तरकृयाबाट अन्तिम निष्कर्ष पत्र तयार गरिएको हो ।

लुम्बिनी प्रेस क्लब सिद्दार्थनगरले आयोजना गरेको उक्त फेस्टिवलमा देशभरका ३ सय पत्रकारको सहभागिता रहेको कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताउनुभयो। पत्रकारिताका चुनौती र भविष्यको बाटो, संघीयतामा रेडियो, संघियतामा न्यू मेडिया, पत्रकारितामा स्टोरी टेलिङ, लुम्बिनी सम्पदा, समृद्धि र समाज, लुम्बिनी भ्रमण वर्ष २०७६ र प्रचार प्रसारको प्रभाव,पत्रकारितामा के लेख्ने र कसरी लेख्ने, संघीयतामा टेलिभिजन, संघीयतामा समाबेसी सञ्चार जस्ता विभिन्न १७ वटा सेसनहरु संचालन गरिएको थियो । भने न्यूज फेस्टिवलका क्रममा रामग्राम र तिलौराकोटको अध्ययन अवलोकन गरिएको थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यको संयोजकत्वमा गठित निष्कर्ष लेखन समितिले उक्त निष्कर्ष निकालेको हो । समितिको सदस्यहरुमा राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक श्यामलाल रिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघ प्रदेश–५ का अध्यक्ष मौसम रोका, लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्मा र पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update