Erani Mahal
बगनासकाली पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घाेषित
bbb

पाल्पा – जिल्लाको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको रुपमा घोषित भएको छ । बगनासकालीद्वारा बुधबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मिरा मरासिनीले पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नुभयो ।


पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बन्न तोकिएको मापदण्ड पूरा गरेपछि संस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । आव २०७५/०७६ मा बगनासकालीभित्र तीन सय ७१ जना महिला गर्भवती भएकोमा सबै गर्भवती महिला स्वास्थ्य संस्थामै गएर सुत्केरी भएको स्वास्थ्य संयोजक मणिराम अघिकारीले जानकारी दिनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि जिससका उपप्रमुख मरासिनीले बगनासकाली गाउँपालिका ५ नं. प्रदेशकै तेस्रो संस्थागत सुत्केरी गाउँपालिका बनेको बताउनुभयो । उहाँले स्वस्थ आमा र स्वस्थ्य बच्चाले स्वस्थ नेपाल निर्माण हुने बताउनुभयो । उहाँले संस्थागत सुत्केरी घोषणालाई दिगो रुपमा कार्यान्वयन गर्न आवश्यक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्याैपाने, बगनासकाली गाउँपालिकाका वडा नं. ३ का अध्यक्ष टिका थापा, प्रवक्ता लक्ष्मी अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, युनाइटेड मिसन अस्पतालकी कार्यकारी निर्देशक डा. रचेल कारख, नेकपा जिल्ला सदस्य नेता, हरि पाठक, नेपाली कांग्रेसका प्रतिनिधि यमलाल तिमिल्सिना लगायतले शुभकामना दिनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मनिराम अघिकारीले बगनासकालीमा सुत्केरी महिलाको अवस्था र स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले संस्थामै सुत्केरी घोषणालाई प्रभावकारी बनाउन गर्भवतीलाई प्रोत्साहन, उत्प्रेरणा गर्न भत्ता र अन्य सुबिधा दिइएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीलाई गर्भवतीको घरमा तीन र सात दिनका दिन खटाउने र आमा र बच्चाको अवस्थाका बारेमा जानकारी लिने बताउनुभयो । बगनासकालीको चापपानी, नायरनम्तलेस, खानीछाँपमा बर्थिङ् सेन्टर समेत संचालनमा छन् । कार्यक्रम गाउँपालिका अध्यक्ष कष्णप्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष सरस्वती चिदीको स्वागत र बालमैत्री स्थानीय शासन कार्यक्रमका फाेकल पर्सन मनोज आचार्यको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update