Erani Mahal
पाल्पामा याे वर्ष धान उत्पादन घट्ने, किसान चिन्तित
kalo-poke

पाल्पा - पाल्पामा याे वर्ष धान उत्पादनमा कमी आउने भएकाे छ । पाल्पाका विभिन्न फाँटहरूमा लगाइएकाे धान खेतीमा कालाे पाेके र फाैजी किराकाे राेगका कारण धान उत्पादनमा कमी आउने भएकाे हाे ।

पाल्पामा याे वर्ष २० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आउने किसानकाे भनाइ छ । समयमै मल र बिउ नपाएका कारण पनि याे वर्ष धान उत्पादनमा कमी हुने किसानकाे भनाइ छ । जिल्ला कृषि ज्ञान केन्द्र पाल्पाले याे वर्ष २५ प्रतिशतसम्म धान उत्पादन घट्ने जनाएकाे छ । गत वर्ष ३५ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन भएकाे थियाे । याे वर्ष धान उत्पादन अत्याधिक घट्ने भएका कारण किसान भने चिन्तित देखिएका छन् ।

किसानका अनुसार कृषि क्षेत्र हेर्ने जिम्मा गाउँपालिका नगरपालिकाले पाएपछि कृषि क्षेत्र उपेक्षामा परेकाे छ । किसानले कृषि क्षेत्रमा जनप्रतिनिधिले वेवास्ता गरेकाे आराेप लगाइरहेका छन् । उनीहरूले आफ्ना मान्छेलाइ मात्र अनुदान वितरण गरेकाे, भनेकाे बेलामा कृषि प्राविधिक नपाएकाे बताउँदै आएका छन् ।

मंसिर महिना सुरू हुदाँ पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरुमा धान स्यार्ने चटारो चलेको छ यद्यपी अधिकांश धानमा कालो पोके र फाैजी किराकाे प्रकाेपले धान उत्पादन कम हुने निश्चित छ । पहिले एक/ दुइ प्रजातिको धानमा देखिएको यो रोग हावाका माध्यमबाट सबै प्रजातिका धानहरुमा कालाेपाेके राेग लागेकाे छ ।

पछिल्लाे समयमा उन्नत जातकाे धान खेती लगाउने प्रचलन बढेका कारण पनि कालाेपाेके राेगकाे प्रकाेप बढ्दै गएकाे छ । उन्नत जातका बिउ प्रयोग गर्दा झनै विभिन्न रागको प्रकोप फैलिएको माथागढी गाउँपालिका २, रुपसेकी सरस्वती कुमालले बताउनुभयाे । उहाँले राेगका बारेमा गाउँपालिकालाइ जानकारी गराउँदा समेत प्राविधिक नआएकाे बताउनुभयाे ।

जिल्लाकाे माडीफाँट, रामपुरफाँट, पूर्वखाेला, झडेवा, अर्गली, कचल लगायतका फाँटमा लगाइएकाे धान खेतीमा राेग लागेकाे किसानकाे भनाइ छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update