Erani Mahal
'जनताकाे गुनासाे सुन्न तानसेनका नगर-प्रमुख शाही बाेटे गाउँमा'
77422689_2527469473972876_7061111648362168320_n

पाल्पा - विजयी भए पश्चात धेरै जनप्रतिनिधिले मतदातालाई बिर्सिने प्रचलन बढ्दै गएको छ । चुनावताका जनताको घरदैलोमा पुग्ने तर अरुबेला जनतालाई बिर्सने गरेको आरोप धेरै जनप्रतिनिधिहरूलाई लाग्ने गरेको छ । तर तानसेनका नगरप्रमुख अशोककुमार शाहीले भने जनता र मतदाताको घरघरमा पुग्नुभएको छ ।

यसले नेता भोट माग्ने बेलामा मात्र आउँछन् भन्ने आरोपलाई गलत सावित गरेको छ । जनताको गुनासो सुन्न नियमित जनताको घरदैलोमा जान उहाँले सुरु गर्नुभएको छ । नागरिकको गुनासो सुन्न उहाँले घरदैलो अभियान गरिरहनुभएको छ । मतदाताको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुन्ने र सुझाव कार्यान्वयन गर्न उहाँ क्रियाशिल बन्नुभएको हो ।

तस्विर : पत्रकार कृष्ण पाेखरेलकाे सहयाेगबाट ।

गुनासो सुन्नका लागि उहाँ पहिलो पटक तानसेनको दुर्गम र अल्पसंख्यक समुदाय बसोबास रहेको क्षेत्रमा जानुभएको छ । तानसेन–१३, बोटेगाउँमा पहिलो पटक पुगेर त्यहाँका अल्पसंख्यक, बोटे, विपन्न, महिला र युवाको गुनासो उहाँले सुन्नुभएको छ ।


छेर्लुङ्मा स्थानीय बासिन्दा मनिकला बोटेले आफ्नो नागरिकता नहुँदा एकल र जेष्ठ नागरिक भत्ता नपाएको गुनासो गर्नुभयो । चार वर्ष मलेसिया बसेर नेपाल फर्किएर गाउँमै फर्निचर उद्योग सञ्चालन गर्दै आएका बलबहादुर विकले थ्रि–फेज लाईन नहुँदा फर्निचर उद्योग नै बन्द गरी विदेशिनु पर्ने बाध्यता भएको गुनासो गर्नुभयो ।

चार वर्ष कोरिया बसेर स्वदेश फर्कनुभएका गणेश भट्टराईले व्यावसायिक कृषिको लागि मोटर बाटो, विद्युत लाईन र सहुलियत दरमा ऋणको व्यवस्था गर्न प्रमुख शाहीसँग अनुरोध गर्नुभयो । राधादेवी प्राविकी प्रधानाध्यापक सावित्रा भट्टराईले भवन निर्माण गरिदिन आग्र गर्नुभयो ।

बोटे गाउँ हँुदै कालीगण्डकी किनारसम्म बाटो, सिंचाईको व्यवस्था, बादर नियन्त्रण, सामुदायिक भवन नभएकाले भवनको व्यवस्था गरिदिन त्यहाँका स्थानीय बासिन्दाले आग्रह गरेका छन् । उक्त कार्यक्रममा तानसेनका नगरप्रमुख अशोककुमार शाहीले चुनावको समयमा गरेको प्रतिवद्धता अनुसार क्रमश विकास निर्माणको काम भईरहेको बताउनुभयो ।

अहिले पनि नगरका नागरिकलाई सेवासुबिधा पुग्ने गरेर नगरपालिकाले विकासको काम गरिरहेको शाहीले बताउनुभयो । उहाँले स्वदेशमै रोजगारी दिन ग्रामीण आर्थिक विकास संघ रेडा, युनडिपी नेपाल बंैक जस्ता संस्थासँग सहकार्य गरी बिना धितो सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका बोटे, माझी तथा दलित परिवारको नागरिकताका लागि घर–घरमै पुगेर मुचुल्का उठाउन र तानसेनसम्म आउन जानको लागि निःशुल्क रुपमा सवारी साधनको व्यवस्था मिलाउने नगर प्रमुख शाहीले बताउनुभयो । जनप्रतिनिधिसँगै जनताको घरमा पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज वेल्वासेले नगरपालिकाले नगरका १४ वटै वडामा पुगेर विकास निर्माण तथा जनताका आवाजलाई सुन्ने र सम्बोधन गर्ने बताउनुभयो ।

नगरकार्यपालिका सदस्य दिपक विश्वकर्माले निर्वाचन भएपछि अर्काे निर्वाचनमा मात्र नेताहरू गाउँ पुग्ने चलनचल्तीलाई नगरपालिकाका जनप्रतिनिधिले तोडेको बताउनुभयो । वडा अध्यक्ष टुकप्रसाद भट्टराईले नगरपालिकाले वडा १३ लाई प्राथमिकता राखेर काम गर्दै आएको बताउनुभयो । रेडाका प्रमख कार्यकारी अधिकृत लीलाबहादुर कार्कीले कृषि तथा पशुपालनमा युवाको आवश्यकता अनुसार सहयोग गर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update