Erani Mahal
पाल्पाकै ठूलाे 'तरकारी टनेल' अध्ययन्  अवलाेकनका लागि खुला
76991663_457666724884278_8372839341105348608_n

पाल्पा – जिल्लाकै ठूलो र उच्च प्रविधिको तरकारी टनेल (हाइटेक) हाउस निर्माण सम्पन्न भएसँगै खुला गरिएको छ । प्रदेश सरकार र रामपुर नगरपालिकाको समन्वयमा कृषि र कृषि उत्पादन व्यवस्थित गर्न पाल्पाको रामपुरमा हाइटेक निर्माण थालिएको थियो ।

हाइटेकमा टमाटर लगाएसँगै रामपुर नगरपालिका कृषि शाखाले सर्बसाधरण र विषयकेन्द्रित अध्ययनका लागि आउने भ्रमण टोलीका लागि टिकट सिस्टमबाट हाइटेक टनेलको अबलोकन शुभारम्भ गरेको हो ।

प्रदेश नम्बर ५ को २५ लाख रुपँया र रामपुर नगरपालिकाको ३१ लाख गरी ५६ लाख रुपँया लागतमा हाइटेक पोलिहाउस निर्माण गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

‘‘कृषि उत्पादनको राम्रो संभावना यहाँ छ,थापाले भन्नुभयो–नगरलाई कृषि पर्यटनसँग पनि जोड्ने लक्ष्यका साथ पाल्पामा नै ठुलो टनेल निर्माण गरेका हौं’’ । परम्परागतबाट किसान व्यवसायिक हुदैं गर्दा उच्च प्रविधिको प्रयोगमा नगर सरकार दृढका साथ अगाडी बढेको उहाँको भनाई छ ।

निर्माण शुरु देखि नै धेरै किसानले हेर्नुभएको छ, चासो छ उहाँहरुमा हौसला बढेको छ थापाले थप्नुभयो–व्यवस्थित र व्यवसायिक कृषि उत्पादनमा हाइटेक महत्वपुर्ण सावित हुनेछ । नगरपालिकाले बाहिरबाट भित्रिने तरकारीलाई निरुत्साहित गर्ने लक्ष्य लिएको छ । स्थानीय उत्पादनलाई जोड दिन र कृषिबाटै आर्थिक विकास सम्भव रहेको जनाउदै आगामी पुष १ देखि बाहिरबाट भित्रिने तरकारी निरुत्साहित गर्ने कार्यक्रमलाई हाइटेकले दिगो साथ दिने नगरप्रमुख थापाको भनाई छ ।

यही हप्तादेखि हाइटेक भ्रमणका लागि टिकट सिस्टम राखिएको छ । टनेलभित्र अहिले गोलभेँडा छन् । रामपुर नगरपालिकाको कार्यपालिका बैठकले टनेललाई रेखदेख र व्यवस्थित गर्न टिकट सिस्टम राख्ने निर्णय गरेको कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताउनुभयो । बैठकले समुहमा अवलोकन गर्न आउनेलाई १ हजार शुल्क, प्रतिव्यक्ति १ सय र विद्यार्थीका लागी ५० टिकट कायम गरेको छ ।

विरुवा नलगाउदै देखि हेर्न आउनेको चहल पहल थियो पाण्डेले भन्नुभयो–विरुवा लगाएर व्यवस्थित भएसँगै आउनेहरुको संख्या बढेको छ । ठुलो क्षमताको टनेल छ प्रविधिको प्रयोगले पनि उत्तिकै लगाव किसानमा छ उहाँँले भन्नुभयो । ढुङ्गा भएको भिरालो टारलाई समथर बनाएर, ढुङ्गा टिपेर, बाहिरबाट ल्याएको माटो र मल पानीको सन्तुलन मिलाएर निकै संघर्षले उब्जाउशिल बनाएको कृषि शाखाका कर्मचारी सपना खड्काले बताउनुभयो । टनेलभित्र शुरुमा हाल ३ हजार गोलभेँडाका विरुवा लगाइएको छ ।

नियमित रेखदेखको लागि २ जना कर्मचारीको व्यवस्था गरिएको छ । कृषि शाखाको परिषरमा नेपाल थोपा सिंचाई प्रालिले साढे दुई रोपनी क्षेत्रफलमा ३६/३६ मिटर लम्वाई र चौडाइ रहेको टनेल निर्माण गरेको हो । टनेल भित्रै विभिन्न मौसमी वेमौसमी जातका तरकारी उत्पादन गरी सिक्ने सिकाउने थलोको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ । समयमा मर्मत सम्भार भएको खण्डमा २० वर्षसम्म यही टनेल खप्न सक्छ कृषि शाखा प्रमुख पाण्डेले भन्नुभयो– यही टनेलबाट विभिन्न जिल्लाका किसान र विद्यार्थीलाई सिक्ने थलो बन्न सक्छ । टिकट खुला भएसँगै रम्भा १ हुँगीको जनकल्याण माविमा सञ्चालित कृषि बाली विज्ञानमा अध्ययनरत २५ विद्यार्थीले टोलीले हाइटेकको अबलोकन अध्ययन गरेका छन् ।

नगरपालिकाले विभिन्न बेमौसमी जातका तरकारी उत्पादन गरी राजश्व बढाउने गरि तत्काललाई आफैले सञ्चालन गर्ने जनाएको छ । भविश्यमा कृषि समुह, सहकारीलाई सञ्चालनको लागि दिन सकिने नगरपालिकाको भनाई छ । यसको लागि नगरपालिकाले कार्यविधि समेत बनाएको छ ।

कृषिको संभावना रहेको रामपुरमा मौसमी सहित बेमौसमी तरकारी उत्पादन गरि यहाँको बजार क्षेत्रमा यहीको उत्पादन पु¥याउनका लागि नगरपालिकाले विभिन्न तरिका अबलम्बन गरेको छ । किसानलाई कृषिमा अनुदान, छुट सँगै युवा लक्षित कार्यक्रम लगायतबाट कृषि उत्पादनमा जोड दिएको नगरपालिकाले एक वडा एक उत्पादन र संभावित तरकारी उत्पादनमा वडागत छनौट समेत गरेको छ ।

हाइटेक टनेल निर्माण यसको लागि महत्वपुर्ण सावित हुने विश्वास लिइएको छ । गर्मीयाममा चिसो तापक्रम, थोपा सिंचाई प्रबिधि, घामको तापक्रम छेक्ने, किरा लाग्नबाट बचाउने गर्छ । यस उच्च प्रबिधिको तरकारी टनेलमा मौसमी तथा बेमौसमी तरकारीहरु लगाउन सकिन्छ । टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सर मार्फत कुलिंग प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गर्ने गर्छ ।

यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफुल लामो समय निबिग्रियोस् भनेर भण्डार गरेर राख्न करिव तीन सय भन्द बढी मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माणको काम पनि अगाडी बढेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update