Erani Mahal
पाल्पाली सेवा समाज पोखराको समन्वयमा ४० लाख ५० हजारकाे छात्रवृत्ति
75252852_2503637869717158_5686620327212220416_n

पाल्पा - मातृ सेवा प्रतिष्ठान नेपालको आर्थिक सहयोग र पाल्पाली सेवा समाज पोखराको व्यवस्थापनमा पाल्पामा विपन्न तथा गरीब छात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ । पाल्लाका १० वटै स्थानीय तहका ८१ वटा वडाबाट एक एक जना जेहेन्दार र गरीब परिवारका छात्र छात्रालाई जनही ५० हजारका दरले ८१ जनालाई ४० लाख ५० हजार बरावरको छात्रृत्ति प्रदान गर्न लागिएको समाजले तानसेनमा एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गाउँका विभिन्न विद्यार्थीहरुलाई प्राविधिक उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न थालिएको समाजका अध्यक्ष कुल प्रसाद घिमिरेले बताउनुभयो । उहाँले पाल्पामा जन्मभई कर्मथलो पोखरा बनाएको पाल्पालीहरुले मातृभूमिको उन्नयनको लागि विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको र यसैक्रममा वरिष्ठ समाजसेवी हरीप्रसाद पाण्डेको पहलमा रम्भादेवी छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

उहाँले त्यसको लागि सबै स्थानीय तहसँग समन्वय गरिएको र वडाको सिफारिसको आधारमा छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । स्वास्थ्य, इन्जिनियरिङ्ग, कृषि, भेटेनरी, होटल म्यानेजमेन्ट लगायतका उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने घिमिरेले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले पाल्पालीको नामका अन्य संस्था भन्दा पाल्पाली समाज पोखराले देशकै नमुना कार्यहरु गर्दै आइरहेकोमा धन्यावाद व्यक्त गर्नुभयो । उहाँले समाज र मातृभूमिको विकासमा सबैको सहभागिता भएमा समृद्ध देश बनाउन सकिने समेत बताउनुभयो ।

पाल्पा जन्मघरभई नेपालका जुनसुकै क्षेत्रमा अध्ययन र बसोवास गर्नेले छात्रवृत्ति पाउने समाजका वरिष्ठ उपाध्यक्ष रेशम थापाले बताउनुभयो । उहाँले वडाको सिफारिस, निवेदकको निवेदन र आवश्यक प्रक्रियापूरा गरेपछि सम्बन्धित विद्यालयकै खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाउने समेत बताउनुभयो ।

समाजले पाल्पाको पर्यटन प्रर्वद्धनको लागि पोखरामा सांस्कृतिक मेला, पाल्पाली हाउस बनाउने लक्ष्य रहेको जनाएको छ । साथै २० लाखको लागतमा पोखरामा डिजिटल पर्यटनमैत्री होर्डिङ्गबोर्डको निर्माण प्रक्रिया थालिएको समेत जनाएको छ ।

यस्तै पाल्पाको विकास र पर्यटन प्रर्वद्धनका लागि यहाँका स्थानीय सरकार, नीजि क्षेत्र र गण्डकी प्रदेश सरकार र केन्द्रसरकारसँग समेत सहकार्य गरेर काम गरिने समाजका सदस्य श्यामकुँवरले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update