Erani Mahal
फुसकाे छानाे हटाउँदै बगनासकाली गाउँपालिका
bagnaskali-jasta-pata-bitaran

पाल्पा – जिल्लाको बगनासकाली गाउँपालिकाले फुसको छानारहित गाउँपालिका घोषणा गर्ने तयारी थालेको छ । फुसको छानारहित गाउँपालिका बनाउने उद्देश्यले बगनासकाली गाउँपालिकाले तीन वर्षदेखि गरिब र विपन्न घरपरिवारलाई जस्ताको पाता वितरण गरिरहेको छ ।


बगनासकाली गाउँपालिकाभित्रका ९ वटै वडामा खरको छाना भएका घरपरिवारलाई निःशुल्क रुपमा जस्ता पाता वितरण गरिएको छ । आर्थिक २०७३/०७४ देखि नै फुसको छानारहित गाउँपालिका बनाउने उद्देश्यले जस्ताको पाता वितरण गरिएको थियो ।


गाउँपालिकाभित्र रहेका विपन्न तथा गरिब समुदायको घरमा रहेको फुसको छाना हटाउने अभियान दुई वर्षअघि देखि नै सुरु भएको थियो । यो वर्ष गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका घोषणा गर्ने गरी जस्ताको पाता वितरण भईरहेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०७६ पुस महिनाभित्र फुसको छानारहित गाउँपालिका घोषणा गर्ने योजना छ ।


गाउँपालिकामा दुई वर्ष अघि दुई सय ४७ घरमा फुसको छाना थियो । जनप्रनिधि निर्वाचित भएपछि पहिलो वर्ष मा ५५ घरधुरी, दोस्रो वर्ष ८३ घरधुरीलाई जस्ताको पाता वितरण गरेको थियो । यो वर्ष बाँकी एक सय नौँ वटा घरमा फुस छाना वितरण भईरहेको छ । अहिले एक सय नौँ घरपरिवारको लागि तीन बण्डलका दरले जस्ताको पाता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो ।

बगनासकालीको वडा नं. २ पोखराथोकका १३ घरपरिवार, वडा नं. ६ यम्घाका ७४ घरपरिवार र वडा नं. ७ खानीगाउँका १९ घरपरिवारले जस्ताको पाता पाउन बाँकी छ । जस्ताको पाता वितरण गर्न बाँकी रहेका वडामा समेत कर्मचारी र जनप्रतिनिधिको रोहबरमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । हरेक वर्ष फुसको छाना लगाउँदा वर्षात्मा पानी चुहिने, छाना लगाउन महङ्गो पर्ने, ज्यामी नपाइने समस्याले हैरान भएका यहाँका स्थानीय बासिन्दा जस्ताको पाता पाएपछि खुसी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update