Erani Mahal
तरकारी खेतीबाट वार्षिक पाँच लाख  आम्दानी
dhan-b-nepali

पाल्पा - बाँझो रहेको भिरालो जग्गामा तरकारी खेती गरेर यहाँका एक किसानले वार्षिक पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ । छिमेकीको बसाईसराईपछि बाँझो रहेको जग्गामा तरकारी खेती गरेर माथागढी–३, सिलङ्गीका ४५ वर्षिय धनबहादुर नेपालीले वार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्नुभएको हो ।

गाउँमा छिमेकीको बसाईसराई भएपछि आफूले २० रोपनी जग्गामा टमाटर, लौरी सेमी, बोडी, काउली, खुर्सानी, बेमौसमी मकै, लसुन धनिया खेती गर्दै आएको नेपालीले बताउनुभयो । अरुले छाडेको जग्गा बाँझो भएपछि मैले खनजोत गरेर तरकारी खेती गर्न सुरु गरे नेपालीले भन्नुभयो तरकारी तरकारी खेती राम्रो भएको छ, अहिले वार्षिक पाँच लाख कमाइ हुन्छ ।

आफ्नै पाँच रोपनी र छिमेकीको बाँझो भएको १५ रोपनी जग्गामा खनजोत गरेर आफूले तरकारी खेती गरेको नेपालीले सुनाउनुभयो । जग्गा बाँझो भएपछि खनजोत गरेर तरकारी खेती गर्न मागेपछि छिमेकीले पनि सहज रुपमा जग्गा दिएको नेपालीले गोरखापत्रलाई बताउनुभयो । उहाँहरूको बसाई बुटवल÷भैरहवा तिर भएपछि जग्गा बाँझो भयो नेपालीले भन्नुभयो मलाई तरकारी खेती गर्न जग्गा पुगेन, जग्गा दिनुस् भनेपछि सहज रुपमा दिनुभयो ।


अहिले छिमेकीको आफ्नो र बाँझो रहेको जग्गासहित २० रोपनी जग्गामा तरकारी खेती गरेको धनबहादुरकी श्रीमती जयकुमारीले बताउनुभयो । श्रीमान्ले तरकारी बिक्री गर्ने, बिउबिजन ल्याउने र आफूले तरकारीको स्याहारसुसार गर्ने जयकुमारीको भनाई छ । १० वर्षअघि विदेशमा बसेर फर्कनुभएका श्रीमान्को सहयोग पाएपछि तरकारी खेतीबाट राम्रो आम्दानी गरेको उहाँले बताउनुभयो ।
यस क्षेत्रमा सिंचाईको असुबिधा भएपनि तरकारी भने विषादी बिनै सहज रुपमा हुर्कने गरेको किसानको अनुभव छ । माटो मलिलो हुँदा सिलङ्गी गाउँमा टमाटर, धनिया र लौरी सेमीका लागि उपयुक्त वातावरण मानिन्छ ।


नेपालीले उत्पादन गर्नुभएको तरकारी तानसेन, बुटवल, चर्चरे, सराई, दमकडा बजारमा निर्यात हुने गरेको छ । उत्पादित तरकारी गाडी रिजर्ब गरेर बजारमा लैजाने गर्नुभएको छ । यो वर्ष मात्र तीन लाख ५० हजारको टमाटर, एक लाखको लसुन, एक लाखको लौरी सेमी र धनिया बिक्री गरेको नेपालीले बताउनुभयो ।

तरकारी खेतीका लागि सिंचाईका सुबिधा हुने हो भने यहाँका किसानलाई व्यावसायिक तरकारी खेती लाग्न सहज हुन्छ। तर यहाँ अहिलेसम्म सिंचाइकाे अभाव भएकाे यहाँका किसानहरूकाे भनाइ छ ।

यहाँका किसान व्यवसायिक बन्दै गएपनि स्थानीय सरकारबाट भने कुनै सहयाेग नपाएकाे किसानकाे गुनासाे छ । सहयाेग पाउने किसान नेता र जनप्रितिनिधिका पहुँचवाला हुन्छन्, हामीले सहयाेग मागे पनि पाउँदैनाैं उहाँले भन्नुभयाे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update