Erani Mahal
सत्यवतीमा चिच्याएर वर माग्ने मेला सकियाे, हजाराैं सहभागी
P1120426-1

पाल्पा – पाल्पाको सत्यवती तालमा आइतबारदेखि लागेको वर माग्ने मेला मङ्गलबार सकिएको छ । तिनाउ गाउँपालिका वडा नं. ४ को सत्यवतीमा पुगेर वर माग्ने मानिसहरूको घुँइचो लागेको थियो ।

कात्तिक महिनाको पूर्णिमाको अघिल्लो दिनदेखि लाग्ने मेला तीन दिनसम्म लागेको हो । मेलामा आफूले मागेको वर पूरा भएको विस्वासमा र वर माग्ने जाने भक्तजनहरूको घुँइचो लागेको थियो । तीन दिनको मेला अबधिभरि हजाराैं भक्तजन सत्यवती तालमा आएको आयोजक एवं स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय रुपमा महत्वको संस्कृति भएकाले तिनाउ गाउँपालिकाले मङ्गलबार स्थानीय बिदा दिएको थियो । परम्परादेखि नै सत्यवती ताल यस क्षेत्रकै महत्वपूर्ण परम्परा र संस्कृति भएकाले स्थानीय बिदा दिइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।


परापूर्व कालदेखि नै यहाँ आएर आफूले चिताएको वर चिच्याएर मागेमा सत्यवती बज्यैले पूरा गरिदिने विस्वास छ । सत्यवती बज्यै कान नसुन्ने (बहिरी) तर कसैले मनमा लागेको अभिव्यक्ति चिच्याएर आग्रह गरे, सत्यवती बज्यैले सुनेर पूरा गरिदिने विस्वास भक्तजनमा छ ।

देशभरका भक्तजनहरू यहाँ आएर चिच्याएर वर माग्ने र वली दिई आफ्नो मनको इच्छा सत्यवती बज्यैसमक्ष राख्ने स्थानीय बासिन्दाको भनाई छ । सत्यवती मेलामा संघीय, प्रदेश सरकारका प्रतिनिधि, कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि समेत पुगेका थिए ।


सत्यवती तालको छेउ वरपर घुमेर दर्शनार्थीले चिच्याएर वर मागेका थिए । यहाँ आउने भक्तजनले बलि समेत बाख्रा चढाउने प्रचलन रहेको छ । बलि नदिनेले परेवा उडाउने प्रचलन छ । भक्तजनहरु सत्यवतीमा बलिका लागि बाख्रा, उडाउन परेवा र बाँसको लिङ्गो लिएर पूर्णिमाको अघिल्लो रात नै पुग्छन् । राति ताल पुगेका भक्तजनले रातमै लिङ्गो गाँड्छन् ।

बिहान झिसमिसे उज्याँलोमा लिङ्गो चिनेर पुजा गर्छन् । त्यसपछि ताल वरपर तीन पटक घुमेर चिच्याएर वर माग्ने चलन रहेको स्थानीय बासिन्दा सुनवीर गाहाले बताउनुभयो । तीन दिनसम्म लागेको मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ्, बाँके, चितवनलगायतका जिल्लाबाट हजारौँ भक्तजन आएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update