Erani Mahal
निस्दी पाल्पाका बयम्बुकाे मलेसियामा गएकाे २ महिनामै मृत्यु
death-sign

पाल्पा - पाल्पा निस्दी गाउँपालिका–६, अर्चलेका यमबहादुर बयम्बुको मलेसियामा मृत्यु भएको छ । म्यानपावर र कम्पनीको लापर्वाहीले मलेसिया पुगेको २ महिना नपुग्दै बयम्बुकाे मृत्यु भएकाे हाे ।

गम्भीर बिरामी हुँदासमेत कम्पनीले उपचार नगरेका कारण यमबहादुरको मंगलबार मृत्यु भएको मलेसियामा रहेका छिमेकीकाे भनाइ छ । काठमाण्डौस्थित रिजा ओभरसिसमार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेसमा पुगेका यमबहादुर मलेसिया पुगेदेखि नै बिरामी भएरको र गम्भीर बिरामी हुँदासमेत कम्पनीले उपचार नगरेको मृतककी बहिनी कान्तिसराले बताउनुभयाे ।

मलेसिया पुगेपछि नै बिरामी परे पनि कम्पनी र काठमाण्डौको म्यानपावर कम्पनीले यमबहादुरले नाटक गरेको भन्दै उपचारमा लापर्वाही गरेका थिए । मृतक यमबहादुरका परिवारले उपचारका लागि १ लाख २० हजार रुपैयाँ नातेदार पर्ने एजेन्टलाई दिए पनि कम्पनी र म्यानपावरले उपचार नगरेको जनाएका छन् ।

म्यानपावर कम्पनीका एजेन्ट दानबहादुर सोमै मगरले आफूले यमबहादुरलाई पठाउनका लागि सुरुमा ९५ हजार लिएको र बिरामी परेपछि १ लाख २० हजार परिवारबाट लिएर रिजा ओभरसिसलाई दिएको प्रतिक्रिया दिनुभयो । काठमाण्डौको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताउनु भएको छ ।

बिरामी भएको १० दिनपछि मात्रै कम्पनीले बयम्बुलाई अस्पताल लगेको थियो । एपेण्डिसाइटिस भएको भन्दै शल्यक्रिया भएको कम्पनीले जनाएको छ । म्यानपावर र मलेसियाको कम्पनी दुवैले लापर्वाही गरेका कारण यम बहादुरको मृत्यु भएको भन्दै मृतक बयम्बुको परिवारले कारबाहीको माग गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update