Erani Mahal
रम्भा गाउँपालिकाद्वारा २८ महिनामा भएका मुख्य २८ उपलब्धीहरू सार्वजनिक
kkkk

पाल्पा – रम्भा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि २८ महिनामा भएका मुख्य २८ उपलब्धीहरू गाउँपालिकाले सार्वजनिक गरेको छ । मंगलबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आफूहरू निर्वाचित भएपछि निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुसार सम्पन्न भएका मुख्य २८ उपलब्धीहरू सार्वजनिक गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले २८ महिनाका २८ मुख्य उपलब्धीहरू सार्वजनिक गर्दै ४८ किलोमिटर मोटरबाटोको नयाँ ट्रयाक खोलिएको र दुई सय २० किलोमिटरमा सडककाे स्तरोन्नति भएको बताउनुभयो । उहाँले सबै नागरिकको अब गाउँपालिका रहेको स्थानसम्म सडकको सिधा पहुँचमा भएको उल्लेख गर्नुभयाे ।

पत्रकार सम्मेलनमा सहभागी गाउँपालिकाका पदाधिकारी र पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष । तस्बिर : इरानीमहल ।

रम्भाका सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएको, सुरक्षित गर्भपतन सेवा र सबै स्वास्थ्य संस्थामा निशुल्क ल्याब सेवा प्रदान गरिएको जानकारी अध्यक्ष भण्डारीले दिनुभयो । यस्तै सबै सामुदायिक विद्यालयलाई सबल र सक्षम बनाई विद्यार्थीको आकर्षण बढाउन १४ सय बढी बालबालिकालाई दिवा खाजा, दुर्घटना विमा गरेको उहाँले बताउनुभयो । विमा, दिवा खाजा, शिक्षक र अभिभावकलाई दिइएको तालिमले रम्भाका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार भएको उहाँको भनाई छ ।

कालीगण्डकीको क्षेत्रमा गुरुकुल विद्यालय स्थापना गरी अंग्रेजी र संस्कृत दुबै माध्यमबाट पढाई सुरु भएको गाउँपालकिाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । वडादेखि पालिकासम्म महिला सञ्जाल गठन, ८८ जनालाई सीपमुलक लालिम दिएको, ६५ सय घरधुरीमा स्वच्छ खानेपानीको उपलब्धता गराएको, आलु उत्पादनमा आत्मनिर्भर गाउँपालिका बनाउन शीत भण्डारको निर्माण गरेको प्रवक्ता रेग्मीको भनाई छ ।

रम्भामा सहकारीको माध्यमबाट आयआर्जनको काम सञ्चालन भएको, युवा सञ्जालमार्फत् ७४ जना युवालाई तालिम दिएको र उनीहरू पेशा व्यवसायमा संलग्न भएको, कृषकका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । महिला संजाल गठन गरी महिलालाई ढाकाका सामग्री उत्पादन, ट्वाइलेटमा प्रयोग हुने फिनेल उत्पादनमा लगाइएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिकालाई टुकीरहित गाउँपालिका बनाउन पुराना पोल बिस्थापनमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । रम्भाले बालमैत्री गाउँपालिका बनाउन विभिन्न पूर्वाधार निर्माण गरेको छ । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिसकेको छ । गाउँपालिकाले परम्परागत पेशा सुदृढीकरण कार्यक्रम अन्तर्गत नौमती बाजा, आरन संरक्षण कार्यक्रम सञ्चालन गरेको, कृषि यान्त्रिकीकरणअन्तर्गत हाते ट्याक्टर, टनेल र थ्रेसर जस्ता उपकरण वितरण गरेको जनाएको छ ।

भण्डारीले विकास निर्माणको काममा जनताको सहभागिता र सहयोग रहेको बताउँदै चालु आवको बजेट कार्यान्वयनपछि थप उपलब्धीहरू देखिने दावी गर्नुभयो । रम्भा गाउँपालिकाको समग्र विकासका लागि अहिले पनि गाउँपालिका निरन्तर लागेको जानकारी दिनुहुँदै उहाँले विभिन्न इन्डिकेटर बनाएर स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, पर्यटक, कृषि, वनवातावरण, रोजगारीका क्षेत्रमा काम गरेको जानकारी दिनुभयो ।

कार्यक्रमम गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले यो चालु आवमा घरायासी र सम्पत्ति सम्बन्धी मुद्दा गाउँपालिकाको न्यायिक समितिमा परेको जानकारी दिनुभयो । उहाँले न्यायिक समितिमा परेका १३ वटा मुद्दामध्ये ११ वटा मुद्दाको किनारा लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले रम्भा गाउँपालिकाले गरेकाे मुख्य उपलब्धीहरू सार्वजनिक गरेर उदाहरणीय कार्य गरेकाे बताउनुभयाे । उहाँले जनप्रतिनिधिहरूले जनताकाे पक्षमा उभिएर काम गर्दा पत्रकारहरूले सघाउने बताउनुहुँदै उपलब्धी सार्वजनिक गर्दा रम्भाकाे उदाहरणीय काम सबैले सिक्न सक्ने बताउनुभयाे ।

कार्यक्रम रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालको संचालनमा सम्पन्न भएको थियो । गाउँपालिकाले हरेक ४÷४ महिनामा पत्रकार भेटघाट गर्ने नीति अनुसार कार्यक्रम गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update