Erani Mahal
रामपुर नगरपालिकाद्वारा स्वास्थ्य परीक्षणपछि अपाङ्ग परिचयपत्र वितरण
76184929_149393153100701_3512032188579184640_o

पाल्पा - शारिरीक अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण तथा परिचय पत्र बितरण सम्बन्धी घुम्ती शिबिर पाल्पाको रामपुरमा भएको छ । रामपुर नगरपालिकाको आयोजना तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा काभ्रेको समन्वयमा भएको शिबिरमा १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य परिक्षणको अबसर पारेर नगरपालिकाले अपाङ्गता परिचय पत्र लिन छुटेका र अद्याबधिक गर्नुपर्नेहरुलाई शिविरमा परिचय पत्र बितरण गरेको छ ।  आइतबार चलेको शिबिरमा नगरपालिका भित्रका १८ वर्ष उमेर मुनिका २७ जनाको स्वास्थ्य परिक्षण गरिएको शिबिर व्यवस्थापक हिरा के.सी.ले जानकारी दिनुभयो ।

शिविरमा जन्मजात खुट्टा फर्किएको, जोर्नी फुस्किएको वा कमजोर भएको, विभिन्न घटना पश्चात् अपाङ्गता हुन पुगेका बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । परिक्षणमा २ जनालाई अपरेशसन गर्न सिफारिस, २ जनालाई सहायता सामाग्री प्रदान र ७ जनालाई विशेषज्ञबाट जाच गर्न परामर्श दिइएको व्यवस्थापक केसीले बताउनुभयो ।

यसैबिच, नगरपालिकाले १३ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरेको छ । परिक्षण पश्चात् ९ जनालाई नयाँ अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ भने ४ जनाको परिचय पत्र अद्याबधिक गरिएको रामपुर नगरपालिकाका सहायक महिला विकास अधिकृत तथा संयोजक पुजा परियारले जानकारी दिनुभयो । जहाँ क बर्गको १ जना, ख बर्गको ५ जना ग बर्गको ३ जना र घ बर्गको परिचय पत्र ४ जनालाई प्रदान गरिएको छ ।

रामपुर अस्पतालमा भएको घुम्ती शिबिर शुभारम्भ गर्नुहुर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हरेक नागरिकलाई आफ्नो अधिकारको प्रत्याभुति दिन नगरपालिका अग्रसर भएको बताउनुभयो । सबै सरह अपाङ्गता भएकाहरुको अधिकार बराबर भएकाले झन् जीवनयापन सहज बनाउन राज्यले थप अधिकार र सरल उपायँ दिएकाले सेवाको पहुँचमा आउन हरेक अपाङ्गता भएकालाई आग्रह गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले संविधानमा तोकिएको अधिकार अनुरुप परिचय पत्र बितरणलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले परिचय पत्र भएकाहरुलाई अद्याबधिक गर्नुपर्नेको खण्डमा डाक्टरद्धारा स्वास्थ्य परिक्षण पश्चात् र पहिलोपटक परिचय पत्र लिएकालाई पनि स्वास्थ्यकर्मीद्धारा जाच गरि परिचय पत्र बितरण गरिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले यस्ता संघसंस्थाको सहकार्य र साझेदारीमा चलेको शिबिरले अपाङ्गता भएकाहरुलाई निकै फलदायी बताउनुभयो ।
रामपुर अस्पतालका निमित्त प्रमुख बिजय परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थ प्रसाद ढुङ्गानाले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update