Erani Mahal
तिनाउँमा सामुदायिक वन अधिकारका विषयमा अन्तरक्रिया
2

पाल्पा– तिनाउँ गाउँपालिका पाल्पाको सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा सामुदायिक वन अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तिनाउँ गाउँपालिका भित्रका ८४ वटा सामुदायिक वन उपभोक्ता समुहहरुको अध्यक्षको भेलाले वनको अधिकार र कर्तव्यका विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । वन आम्दानी र वातावरण संरक्षणको स्रोत भएकाले यसको सम्बद्र्धनमा सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले वनको अधिकार स्थानीय तहलाई प्राप्त नभएपनि स्थानीय तह सामुदायिक वनसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।


विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहको अधिकार कटौती हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । वडा नं. ५ का अध्यक्ष दलबहादुर दर्लामीले उपभोक्ता समितिले पाउने रकमको पारदर्शीता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, तिनाउँ सव डिजिभन वनका प्रमुख चन्द्रबहादुर भाट लगायतले सामुदायिक वनसँग समन्वय गरेर नै कार्यक्रमहरु संचालन गरिने बताउनुभयो ।
गोविन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम सावित्रा पाण्डेले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update