Erani Mahal
अपाङ्गता भएका पाठक परिवारलाई रामपुर नपाका कर्मचारीद्वारा सहयोग
kkk-1

पाल्पा - अपाङ्गता भएका दुई छोरा र बाबुमा आखाँ नदेख्ने समस्या रहेको रामपुर नगरपालिका-७, मझुवाका पाठक परिवारलाई रामपुर नगरपालिकाका कर्मचारीले रकम सहयोग गरेका छन् । कमाएर घर परिवार धान्नुपर्ने अबस्थाका एकै परिवारका तीन सदस्यमा नै परेको बज्रपातमा सान्त्वना दिन नगरपालिकामा काम गर्ने कर्मचारीहरुले आफ्नो व्यक्तिगत रुपमा रकम सङ्कलन गरि पाठक परिवारमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

२ छोरा र श्रीमान्को हेरचाह गर्दै आउनुभएकी भगवती पाठकलाई रकम प्रदान गर्नुहुदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले एक परिवारमा परेको समस्यामा नगर परिवारले सहयोग गरेको बताउनुभयो ।

अपाङ्गता जुनसुकै समयमा जस्लाई पनि आइपर्न सक्ने भएकाले सुखदुःखमा सहयोग गर्ने कर्मचारीहरुको भावनात्मक हेतुले सहयोग प्रदान गरिएको बताउनुभयो । समस्याका जटिलतामा सानो सहयोगले ठूलो राहत हुन सक्छ भन्ने भावनाले एकादशीको पुण्य अबसरमा हामीले सहयोग गरेका हौं अर्यालले भन्नुभयो–कर्मचारीले आफ्नो खर्च जोगाएर सहयोग गरेका छन् ।

नगरपालिकाभित्र कार्यरत ३२ जना कर्मचारी र विजयपुर केवल सञ्चालक टिकाराम घर्तीबाट गरि १६ हजार ५ सय रकम सहयोग गरेका हुन् । विभिन्न सञ्चार माध्यमहरुबाट पाठक परिवारको अवस्था सार्वजनिक भएपछि दैनिकीमा सहज होस् भन्ने हेतुले कर्मचारी सीताराम आचार्यको समन्वयमा कर्मचारीहरुले रकम संकलन गरेका थिए ।

संकलन भएको रकम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, लेखा अधिकृत रेणुराम ज्ञावली सहित कर्मचारीहरुको टोली पाठक परिवारमा पुगेर रकम हस्तान्तरण गरेको छ । पाठकको २७ वर्षिय माईलो छोरा यादव पाठक मेनेन्जाइटिसका कारण जन्मेको केही महिना यतादेखि विस्तारामै छन् ।

जेठो छोरा ३५ वर्षिय लालप्रसाद पाठक पनि २ वर्ष अघि मजदुरीको क्रममा ढाड भाँचिएर विस्तरामै रहँदै आएका छन् भने श्रीमानको ६ वर्ष अघि दृष्टी गुमेको छ । कान्छो छोरा बैदेशिक रोजगारमा गएकोमा केही महिनामा फिर्ता आएका छन् । उनीहरुलाई आमा भगवती पाठकले हेरचाह गर्दै आएकी छन् । पाठक परिवारलाई यसअघि वि लभ पिपुल संस्थाले ३० हजार सहयोग प्रदान गरेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update