Erani Mahal
भुषालडाँडा माविमा भट्टराई परिवारद्वारा अक्षयकोष स्थापना
IMG_0807-copy

पाल्पा– तानसेनको भुषालडाँडा माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी शारदा भट्टराईको स्मृतिमा परिवारद्वारा अक्षयकोषको स्थापना गर्नुभएको छ ।


स्वर्गिय छोरी/बहिनी शारदा भट्टराईको स्मृतिमा तानसेन १ घरभई हाल जीतपुर ४ बाणगङ्गा कपिलवस्तु निवासी माधव प्रसाद भट्टराई र कृष्णप्रसाद भट्टराईले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।


विद्यालयका पूर्व छात्रा तथा आफ्नो छोरी तथा बहिनीको सम्झनामा उहाँहरुले एकलाख राशीको शारदा भट्टराई स्मृति अक्षयकोषको स्थापना गर्नुभएको हो । अक्षयकोष हस्तान्तरण कार्यक्रममा संस्थापक कृष्ण प्रसाद भट्टराईले आफू जन्मेहुर्केको गाउँमा आफ्नो बहिनीको स्मृतिमा विपन्न तथा असाह्य बालबालिकालाई शैक्षिक अवसरबाट बन्चित हुन नपरोस भनेर अक्षयकोषको स्थापना गरिएको बताउनुभयो । आफूनो बहिनी कक्षा ६ मा पढ्दै गर्दा दुखद निधन भएको आफ्नो समेत आर्थिक अवस्था कमजोर भएकाले विद्यालय छोड्ने अवस्था आएको भन्दै अन्य बालबालिकालाई त्यस्तो समस्या नहोस र केही भएपनि आर्थिक सहयोग हुन्छ भनेर अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।


विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कोशलराज न्यौपानेले शिक्षक र अभिभावकहरुको अथक प्रयासले विद्यालयको स्तरमा परिवर्तन ल्याउन सफल भएको बताउँदै अक्षयकोष स्थापना गर्ने दातालाई धन्यवाद दिनुभयो ।


पत्रकार महासंघका पूर्व सचिव तथा पत्रकार रेखीराम रानाले विपन्न तथा गरिब परिवारका विद्यार्थीलाई शैक्षिक विकासमा अक्षयकोषले सहयोग पुर्याउने बताउनुभयो । उहाँले शैक्षिक उन्नयनमा विद्यालयलाई शुभकामना दिनुभयो ।


विद्यालयका प्रधानाध्यापक कमलादेवी खातीले आफुले पढाएको विद्यार्थी स्व. भट्टराईको सम्झनामा परिवारद्वारा स्थापना गरिएको अक्षयकोषको विद्यालयले संरक्षण गर्ने बताउनुभयो । उहाँले २०४० सालदेखि विद्यालयमा दरबन्दी थप नहुँदा विद्यालय संचालनम समेत समस्या भएको अवस्थामा यस्ता अक्षयकोषले हौषला प्रदान गरेको बताउनुभयो ।


विद्यालयका सहायक प्रधानाध्यापक सुन्दर प्रसाद श्रेष्ठले विद्यार्थी संख्या न्यून भएर खारेज हुन लागेको विद्यालयमा अथक प्रयासका बीचमा ४ सय बढी विद्यार्थी सहित शैक्षिक गुणस्तर कायम गर्न सफल भएको बताउनुभयो । उहाँले अक्षयकोष दाता तथा अन्य सहयोगी मनलाई विद्यालयको विकासमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।


अक्षयकोषबाट प्राप्त व्याजबाट प्रत्येक वर्ष दुई जना विपन्न तथा गरीब छात्र÷छात्रालाई छात्रवृत्ति प्रदान गरिने अक्षयकोषदाता भट्टराई परिवारका सदस्य तथा वरिष्ठ पत्रकार गोविन्द भट्टराईले बताउनुभयो । कार्यालय विद्यालयका प्रअ कमलादेवी खातीको अध्यक्षता र शिक्षक सुन्दर श्रेष्ठको संचालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update