Erani Mahal
पाल्पा उवासंघ चुनाव : वाणिज्य उपाध्यक्षमा कसकाे बन्ला पल्ला भारी !
77

पाल्पा – पाल्पा उद्योग वाणिज्य संघ नेतृत्व चयन प्रक्रियामा छ । आगामी तीन वर्षको नेतृत्वका लागि यसअघि निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराई र पूर्व कार्यसमिति सदस्य भुगोलप्रसाद बैंजुको बीचमा प्रतिष्पर्धा हुने चर्चा चलेको थियो । तर एकाएक व्यवसायी उद्योगीहरुले नसोचेको उम्मेदवार बन्नुभयो, पूर्व अध्यक्ष राजु महर्जन ।

महर्जनको अध्यक्ष बन्ने चर्चा नै थिएन । तर जिल्लामा क्रियाशिल एक दलको निर्देशनमा महर्जन एकाएक उम्मेदवार बन्नुभएको स्रोतको दावी छ । त्यसपछि श्रेष्ठ, भट्टराई र बैंजु एकाएक पछि हट्नुभयो । बैजुले अध्यक्ष पदमा उम्मेदवार नै दिनुभएन, श्रेष्ठ र भट्टराईले समेत उम्मेदवारी दिनुभएन । अध्यक्षका अर्का प्रत्यासी दिपक ढुंगानाले दुई दिनपछि उम्मेदवारी फिर्ता लिनुभयो । त्यसपछि अध्यक्ष पदमा महर्जन मात्र एक्लो उम्मेदवार बन्नुभएको छ । अब महर्जन स्वतः अध्यक्ष बन्ने पक्का छ ।

कार्की र पाण्डेय वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । तस्विर स्राेत : फेसबुक पेजबाट ।


महासंघको उद्योग उपाध्यक्षमा प्रकाश कार्की र उत्तम कुमार बज्राचार्यले समेत उम्मेदवारी फिर्ता लिनुभयो । अब उक्त पदमा समेत भीमबहादुर श्रेष्ठको मात्र उम्मेदवारी छ । यो पदमा समेत श्रेष्ठ स्वतः उद्योग उपाध्यक्ष बन्ने पक्का भएको छ ।


संघको अर्को महत्वपूर्ण पद हो वाणिज्य उपाध्यक्ष । यो पदमा भने दुई जना प्रत्यासीको घम्साघम्सी हुने पक्का जस्तै छ । संघको विपक्षी मानिने नेकपा निकट व्यवसायीहरुले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । तर कांग्रेस निकट मानिने दुबैं व्यवसायी उम्मेदवार बनेर चुनावी दौडमा छन् । तानसेनमा लामो समयदेखि मदिरा व्यवसायी गर्दै आउनुभएका निवर्तमान महासचिव यादवसिंह कार्की र अर्का कोल्ड डिङ्क्स व्यवसायी एवं संघका निवर्तमान सचिव दिपक पाण्डेयबीच शनिबार मतदान प्रक्रियाबाट प्रतिष्पर्धा हुँदैछ । यसबाहेक केही अन्य पदमा समेत निर्वाचन हुने पक्का भएको छ ।

वाणिज्य उपाध्यक्षका लागि मूलतः कांग्रेस निटक व्यवसायीका बीचमा पदीय हानथाप भएपनि गुटको समेत प्रभाव परेको आँकलन गरिएको छ । पाल्पा जिल्लाको कांग्रेस संस्थापन पक्षले अर्को पक्षलाई निमिट्यान्न पार्न खोजेपछि व्यवसायीहरुको बीचको लडाई भन्दा पनि गुटको लडाई जस्तो भएको प्रतिक्रिया बाहिर आएको छ ।

उवासंघ घुमीफिरी उही नेतृत्व र उही समुदायको हावी गरिरहेको संस्थापन पक्षले दिपक पाण्डेयलाई ल्याउन चाहेको स्रोतको छ । यद्यपी संघमा परिवर्तन चाहने व्यवसायीहरुले भने पाण्डेयलाई होइन, यादवसिंह कार्कीलाई ल्याउनुपर्ने बताएको छ । अधिकांश व्यवसायीहरू संघ अहिलेजस्तै धिमे गतिमा हाेइन की समग्र जिल्लाकै विकासमा संघले नेतृत्वदायी भूमिका खेलाेस् भन्नेमा छन् । दुई जनाको प्रतिष्पर्धाले कांग्रेस निकटका व्यवसायीहरुलाई के गर्ने भन्नेमा विभाजित गरेको छ । यता नेकपा निकट व्यवसायी भने चुपचाप छन् । उनीहरू यी दुई बीचको लडाईमा नफस्ने चाहेको छ ।

यद्यपी उपाध्यक्षमा कसलाई समर्थन गर्दा राम्रो होला भन्ने बहस भने भईरहेको छ । नेकपा निकट व्यवसायीहरुले समग्र उद्योगी व्यवसायीहरुको हकहितका लागि डाइनामिक नेतृत्व, सबैसँग सहकार्य र समन्वय गर्न सक्ने, आफ्नो कुरा स्पष्ट राख्न सक्ने, नैतिक रुपमा उच्च मनोबल भएको उम्मेदवारको पक्षमा छन् ।


व्यवसायीहरु समेत कसलाई नेतृत्वका लागि मतदान गर्ने भन्ने विषयमा विभाजित भएकाले मतको नतिजा नआउँदा समेत केही भन्न सक्ने अवस्था छैन । तर अन्तिममा नेकपा निकट व्यवसायीहरूको चाहना अनुसार मतपरिणाम आउन सक्ने आँकलन उद्योगी व्यवासायीहरुले गरेका छन् ।

(समाचार टिप्पणी)

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update