Erani Mahal
पाल्पाकाे सत्यवती : जहाँ चिच्याएर वर मागे, वर(मनाेकांक्षा) पूरा हुने विस्वास छ
satyabati-tall

पाल्पा – पाल्पाको सत्यवती तालमा यो वर्ष कात्तिक २४, २५ र २६ गते वर माग्ने मेला लाग्दैछ । तिनाउ गाउँपालिका वडा नं. ४ को सत्यवतीमा पुगेर वर मागे पूरा हुने विस्वास रहँदै आएको छ । अझै कात्तिक महिनामा लाग्ने मेलामा विशेष जोग पर्ने र त्यहाँ जानुको अर्थ रहने बुढापाका बताउँछन् ।

कात्तिकको पूर्णिमाको अघिल्लो दिनदेखि यहाँ हरेक वर्ष मेला लाग्ने गरेको छ । वर माग्ने मेलामा हजारौँ भक्तजन आएर आफूले चिताएको वर मागे पुग्ने धार्मिक विस्वास रहँदै आएको छ । परापूर्व कालदेखि नै यहाँ आएर आफूले चिताएको वर चिच्याएर मागेमा सत्यवती बज्यैले पूरा गरिदिने विस्वास छ ।


सत्यवती बज्यै कान नसुन्ने (बहिरी) तर कसैले मनमा लागेको अभिव्यक्ति चिच्याएर आग्रह गरे, सत्यवती बज्यैले सुनेर पूरा गरिदिने विस्वास भक्तजनमा छ । देशभरका भक्तजनहरू यहाँ आएर चिच्याएर वर माग्ने र वली दिई आफ्नो मनको इच्छा सत्यवती बज्यैसमक्ष राख्ने स्थानीय बासिन्दा बताउँछन् । सत्यवती तालको छेउ वरपर घुमेर दर्शनार्थीले मैले छोरा, पाम, डाक्टर, इन्जिनियर हुन पाम, पल्टनमा भर्ती हुन पाम, धनसम्पत्ति कमाउन पाम, मेरा छोराले यो पाओस् भन्दै वर माग्ने गरेको सुनिन्छ ।

यहाँ आउने भक्तजनले बलि समेत बाख्रा चढाउने प्रचलन रहेको छ । बलि नदिनेले परेवा उठाउने प्नचलन छ । भक्तजनहरु सत्यवतीमा बलिका लागि बाख्रा, उडाउन परेवा र बाँसको लिङ्गो लिएर पूर्णिमाको अघिल्लो रात नै पुग्छन् । राति ताल पुगेका भक्तजनले रातमै लिङ्गो गाँड्छन् । बिहान झिसमिसे उज्याँलोमा लिङ्गो चिनेर पुजा गर्छन् । त्यसपछि ताल वरपर तीन पटक घुमेर चिच्याएर वर माग्ने प्रचलन छ । चिच्याएर वर मागेपछि मात्र सत्यवती खुसी हुने र भक्तजनको मनोकांक्षा पूरा गरिदिने जनविस्वास रहँदै आएको छ ।

सत्यवती ताल घना जंगलको बीचमा रहेकाले पहिले–पहिले यहाँ काठ लिङ्गो बनाएर पूजा गर्ने चलन थियो । मन्दिर बनिसकेको थिएन । तर पछिल्लो समय मन्दिर बनाउने र स्थायी संरचना बनाउने हाेडबाजी छ । यसले परम्परा, महत्व र गरिमालाई बिगार्न सक्ने भन्दै चिन्ता हुन थालेको छ । यहाँका बुढापाका भन्छन्, यो विशेष गरेर मगर समुदायको परम्परा र संस्कृतिसँग सामिप्यता छ । किनभने अहिले पनि मगर समुदायमा महिलालाई मान्ने, प्रकृतिको पूजा गर्ने (माटो, पानी, हावा र जंगलको पूजा) प्रचलन छ ।

यद्यपी परापूर्व कालमा जगप्रपन्चदखि वाक्क भएर सत्यको खोजीमा बृद्ध महिला जङ्गलमा गई तपस्या गरेको र भगवानले उनलाई शक्ति प्रदान गरेको जनविस्वास पनि छ । त्यसैले यहाँ हरेक वर्ष वर माग्न जाने भक्तजनले अचम्म मान्दै वर माग्छन् र मागेको वर पूरा भएपछि भाक्कल लिएर पुनः यहाँ आउछन् ।

तीन दिनसम्म लाग्ने मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ्, बाँके, चितवनलगायतका जिल्लाबाट हजारौँ भक्तजन आउने गरेका छन् । यो वर्ष पूर्णिमा कात्तिकमै परेकाले भक्तजनको भीड अत्याधिक हुने सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिले जनाएको छ । यो वर्ष सत्यवतीमा आउने भक्तजनको पूजाका लागि व्यवस्थापन पनि अहिले भईरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update