Erani Mahal
तिनाउँमा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सुरु
ाा-ब

पाल्पा- जिल्लाको तिनाउ गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम सञ्चालन भएको छ ।

तिनाउ गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम परियोजना कार्यान्वयन इकाई (जोन) पाल्पाबीच भएको सम्झौता अनुसार यो कार्यक्रम सञ्चालन भएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो । सिंगो गाउँपालिका भित्र तरकारी उत्पादन गर्नुका साथै विक्रि वितरण गर्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन भएको उहाँले बताउनुभयो । अध्यक्ष घर्तिमगरका अनुसार कार्यक्रम सुरु भए लगत्तै बुधबार यहाँका अगुवा कृषकलाई परियोजना सम्बन्धी एकदिने तालिम दिइएको छ ।

तालिममा सहजिकरण गर्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम परियोजना कार्यान्वयन इकाई पाल्पाका प्रमुख दिपक भट्टराइले यो परियोजना अन्तर्गत तरकारी उत्पादनमा वृद्धि गरि नेपाललाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो । क्रमसः १० हेक्टरको पकेट क्षेत्र, १ सय हेक्टरको ब्लक निर्माण गर्ने, ५ सय हेक्टरको जोन निर्माण गर्ने, हजार हेक्टरको तरकारीको सुपरजोन निर्माण गर्दै जाने हो उहाँले भन्नुभयो पछि सिंगो नेपाललाई तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम पाण्डे, ५ नम्बरका वडा अध्यक्ष दलबहादुर दर्लामी, कृषक समुह पाल्पाका सचिव कृष्ण पाण्डे लगायतले तिनाउ गाउँपालिका विभिन्न प्रजातिका तरकारी उत्पादनको लागि उपयुक्त ठाउँ भएको र यहाँका कृषकलाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

जिल्ला कृषक समुहका उपाध्यक्ष ठाकुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कृषि प्राविधिक विश्वरुप जोसीले सञ्चालन गर्नुभएको थियो ।

विगत वर्षदेखि तानसेन नगरपालिकामा मात्र लागु भएको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकामा सञ्चालन भएको हो । यो कार्यक्रममार्फत तरकारीको विउविजन वितरण, विषादी नियन्त्रण, उत्पादन, र बजारिकरण साथै कृषकलाई सैद्धान्तिक तथा प्राविधिक सहयोग गरिने जोन पाल्पाका प्रमुख भट्टराइले बताउनुभयो ।

सोही अवसरमा स्थानीय कृषक खड्क गोदारलाई कृषक प्रतिनिधिको रुपमा छनोट गरिएको छ । गोदारको नेतृत्वमा गाउँपालिका भित्र विभिन्न कृषक उपसमिति गठन हुने गाउँपालिका अध्यक्ष घर्तिमगरले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update