Erani Mahal
पाल्पामा राताे च्याउकाे व्यावसायिक खेती, उत्पादित च्याउ बजारमा पुग्याे
rato-chau-kesav-karki

पाल्पा - पाल्पामा रातो च्याउ (गानोडर्मा ) को व्यावसायिक खेती सुरु भएको छ । तानसेन–८, जरेपीपलस्थित भैरव दर्शन च्याउ उद्योगका सञ्चालक केशव कार्कीले पाल्पामा पहिलो पटक रातो च्याउको व्यवसायिक खेती गर्नुभएकाे हो ।

विगत एक दशकदेखि व्यावसायिक च्याउ उत्पादनमा लाग्नुभएका कार्कीले रातो च्याउको उत्पादन गरी त्यसलाई प्रशोधन गरेर कफी र पाउडरको रुपमा बजारमा ल्याउनुभएको छ । काठका मुढा र काठको धुलोलाई निर्मलीकरण गरी बनाइएका करिव पाँच हजार बलमा रातो च्याउ उत्पादन भईरहेको कार्कीले बताउनुभयो ।


आफूले उत्पादन गरेको रातो च्याउबाट बनेको कफि, पाउडर र ट्याबलेट बनाउन सकिने भएपनि अहिले कफि र पाण्डर मात्र उत्पादन भईरहेको कार्कीले बताउनुभयो । सामान्यतया रातो च्याउ तरकारी खानका लागि प्रयोग हुँदैन तर यसबाट तयार भएका कफि, पाउडर र ट्याब्लेटको सेवनले ग्याष्ट्रिक, पायल्स, एलर्जी, मुटु रोगीका लागि फाइला हुने उहाँको भनाई छ ।


कार्कीले अहिले पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत व्यावसायिक कृषि उत्पादन केन्द्र (बल्क) विकास कार्यक्रममार्फत सिटाके र कन्य च्याउ उत्पादन गरिरहनुभएको छ । सिटाके र कन्य च्याउको सफल कृषक बन्नुभएका कार्कीले पहिलो पटक पाल्पामा रातो च्याउको सफल उत्पादन भएको बताउनुभयो । भावी दिनमा रातो च्याउको उद्योग बनाउने र ट्याब्लेट समेत बनाउने उद्देश्यले रातो च्याउ उत्पादनमा लागेको उहाँको भनाई छ ।


रातो च्याउको बजारमा अत्याधिक माग भएपनि माग धान्न नसकेको उहाँको भनाई छ । उहाँका अनुसार रातो च्याउबाट बनेको कफि प्रतिलिटर चार सय रुपियाँमा बिक्री भईरहेको छ । यस्तै पाउडर समेत प्रतिकिलो दुई हजार भन्दा बढी मुल्यमा बिक्री भईरहेको छ । च्याउको भने प्रतिकिलो दश हजार रुपियाँमा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

रातो च्याउ उत्पादनका लागि मात्र आफूले २५ लाख रुपियाँ लगानी गरेको कार्कीको भनाई छ । कार्कीका अनुसार एउटा च्याउको बलबाट पाँच सय ग्राम र मुढाबाट सात किलोसम्म रातो च्याउ फल्छ । तीन महिनाअघि पोखराबाट रातो च्याउको बिउ ल्याएर खेती सुरु गर्नुभएका कार्कीको फर्मबाट दैनिक दश च्याउ उत्पादन भईरहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update