Erani Mahal
पाल्पाकाे माडीमा धान भित्र्याउन थ्रेसरकाे प्रयाेग बढ्याे
trr

पाल्पा - ज्यामीको अभावसँगै विकल्पमा कृषि क्षेत्रमा आधुनिक मेसिनरी सामग्रीको प्रयोग बढ्दै गएको छ । कृषि क्षेत्रमा काम गर्ने कामदारको अभावले कृषि मेसिनकाे प्रयोग गर्ने क्रम बढेकाे छ ।

पाल्पा जिल्लाको विभिन्न स्थानमा अहिले धान बाली भित्र्याउन र यसको स्याहार गर्न आधुनिक सामग्री, थ्रेसर, धान काट्ने मेसिनको प्रयोग बढ्न थालेको छ । दुई/तीन वर्षअघिसम्म धान बाली भित्र्याउन ज्यामीले काम गर्ने प्रचलन थियो तर ज्यामी अभाव दिनहुँ बढ्न थालेपछि अचेल धान पराल छुट्याउन थ्रेसर, ओसारपोसारमा टेक्टर र धान काट्न (हार्भेस्टर)को प्रयोग बढेको हो ।

धानबाली लगाउन र भित्र्याउन आवश्यक ज्यामी अभाव भए पछि मानिसको सट्टामा मेसिन प्रयोग गरेर धान खेतीको व्यवस्थापन गर्न सजिलाे भएकाे किसान बताउँछन् । ज्यामीलाई भनेजति ज्याला दिएपनि पाउनै मुस्किल भएकाले मेसिनरी सामग्रीको प्रयोग बढेकाे तानपा–९ का किसान भीमबहादुर कुमालले बताउनुभयो ।


ज्यामीका लागि लगानी गर्नुभन्दा थ्रेसरको प्रयोगले धान र पराल स्याहार्दा सहज भएकाे उहाँले बताउनुभयाे । ज्यामीलाई ६ घण्टा काम लगाउन चार सय रुपियाँमा पनि सहज रुपमा पाउन गाह्रो छ उहाँले भन्नुभयाे तर थ्रेसरकाे प्रयाेगले काम छिटाे हुन्छ ।

सहज रुपमा ज्यामी नपाएपछि कृषि क्षेत्रलाई आधार बनाएर निर्माण भएका आधुनिक कृषि औजारको प्रयोग गरेर कृषि पेशामा लाग्नुपर्ने अवस्था सिर्जना भएको किसानको भनाई छ ।
जिल्लाको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धान खेती आठ हजार पाँच सय बढी हेक्टर खेतीयोग्य भूभागमा खेती हुँदै आएको छ ।

यहाँका खेतीयोग्य भूभागमा कृषि गर्न पछिल्लो दुई वर्षयता माडीमा कृषि औजार तथा मेसिनको प्रयोग धान स्याहार्ने क्रम बढेकाे माथागढी-२, रूप्सेका धनबहादुर कामीले बताउनुभयाे ।

कृषि क्षेत्रमा आधुनिक मेसिनको प्रयोग भएपछि कृषि गर्ने किसानका लागि निरन्तर कृषि पेशामा लाग्न सहज भएको उनीहरू बताउँछन् । कृषि गर्ने किसानका लागि अब धान रोप्न टेक्टर, रोलाभेटर, मिनिट्रिलर, धान काट्ने मेसिन, थ्रेसरको प्रयोग गर्नुपर्ने अवस्थाले आफूहरूलाई सहज बनाएको उनीहरूको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update