Erani Mahal
पाल्पामा ३० भन्दा कम विद्यार्थी भएका विद्यालयकाे संख्या १ सय पुग्याे, विद्यालय मर्ज भएनन्
142803943647347309_338595803597526_2974040951539892224_n

पाल्पा – पाल्पा जिल्लामा पछिल्लो समयमा विद्यार्थीको संख्यामा आधारभूत रुपमा परिवर्तन आएको छ । दश वर्षअघिसम्म यहाँका प्राथमिक विद्यालयमा समेत एक सय भन्दा बढी विद्यार्थी थिए । तर पछिल्लो समय उक्त संख्या घटेर ५ देखि ३० सम्म पुगेको छ ।

गाउँबाट शहरमा बसाईसराईका कारण गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दो छ । पाल्पाको जनसंख्यामा बृद्धिदरमा समेत कमी आएका कारण गाउँका प्राथमिक, आधारभूत र माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या निकै कम हुँदै गएको छ । पाल्पा जिल्लामा ०६९/०७० सालमा विद्यालय मर्ज गरिएको थियो ।

पाल्पाकाे एक विद्यालय । फाइल तस्विर ।

त्यतिबेला पनि कम विद्यार्थी संख्या भएका र चल्नै नसक्ने अवस्थामा ५० भन्दा बढी विद्यालय मर्ज भएका थिए । तर पछिल्लो झण्डै छ वर्षकाे अबधिमा विद्यार्थी नभएर दयनीय अवस्थामा पुगेका विद्यालयको संख्या बढेकाे छ । शैक्षिक सत्र २०७६ मा पाल्पाका विभिन्न विद्यालयमा विद्यार्थी भर्ना भएको दर हेर्ने हो भने सय विद्यालयमा ३० जना भन्दा कम विद्यार्थी छन् । ३० जना भन्दा कम विद्यार्थी पर्नेमा अधिकांश प्राथमिक तह र आधारभूत तहका छन् । यसमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या अझै कम छन् ।

आर्थिक बोझ थपिदैं

विद्यार्थी संख्या कम हुँदै गएपनि राज्यको आर्थिक भार कम हुन सकेको छैन । प्रावि र आधारभूत तहमा कम्तीमा ३ देखि १० जना शिक्षकका लागि तलबभत्ताको स्रोत खर्च भईरहेको छ । त्यसमाथि स्थानीय र प्रदेश सरकारले समेत विभिन्न शीर्षकमा यस्ता विद्यालयहरूमा रकम खर्च गरिरहेका छन् । जिल्लामा अहिले विद्यार्थी संख्या कम हुँदै गएका विद्यालयमै राज्य भुकम्पले भत्काएकाे भन्दै कराेडाैं लगानी गरेर भवन बनाइरहेकाे छ । त्यस्ता भवन समेत केही वर्षमै काम नलाग्ने अवस्थामा पुग्ने निश्चित छ ।

राज्यले एउटा शिक्षक बराबर पहाडमा ४५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ । यद्यपी पाल्पाका सय भन्दा बढी विद्यालयमा ३० जना पनि विद्यार्थी नहुनु राज्यका लागि घाटा मात्र हो । जिल्ला सदरमुकाम तानसेनमै कतिपय मावि तहमै विद्यार्थी संख्या लाजकाे मर्नु छ । मापदण्ड अनुसार हेर्ने हो भने पाल्पाका ५० प्रतिशत बढी विद्यालयमा शिक्षकको भन्दा विद्यार्थीको अनुपात धेरै कम छ । विद्यार्थी कम भएपछि तलबभत्ता खाएका शिक्षकलाई समेत पढाउने जाँगर छैन । केबल तलब पकाउनका लागि विद्यालयमा उपस्थित हुने बाध्यता शिक्षकलाई छ ।

संविधान अनुसार विद्यालय क्षेत्रलाई सुधार गर्ने, मर्ज गर्ने, व्यवस्थापन र नियमन गर्ने अधिकार स्थानीय तहले पाएको छ । यद्यपी पाल्पाका कुनै पनि स्थानीय तह अधिकार पाएअनुसार काम गर्न सकेको देखिदैन । राजनीतिक पहुँच र नपढाइ खान पाइने मनाेवृत्ति बढेकाे छ । विद्यार्थी कम हुँदा गाउँका विद्यालयमा शिक्षकलाइ पालैपालाे गरेर विद्यालयमा जान सहज भएकाे छ ।

सार्वजनिक शिक्षा सुधारका लागि केही स्थानीय तहहरुले सिर्जनशिल काम त गरेका छन् तर विद्यालय मर्ज गरेर राज्यलाई पर्ने करोडौँ घाटा जोगाउनेतर्फ भने कसैको पनि ध्यान जान सकेको छैन । मर्ज गर्नुपर्ने बहस विद्यालयमा कम विद्यार्थी संख्या भएका विद्यालयलाई मर्ज गरेर अघि बढ्नुपर्ने बहस सुरु भएको छ ।

विद्यालय मर्ज गर्दा राज्यको शिक्षा क्षेत्रमा भएको आर्थिक भार कम हुन्छ । विद्यालय मर्ज गरेर टाढा भएका विद्यार्थीका लागि यातायातको व्यवस्था गर्नुपर्ने कतिपयको भनाई छ । ३० जना विद्यार्थीका लागि चार जना शिक्षक र अन्य स्रोत परिचालन गर्न भन्दा यातायातको व्यवस्था गरे ७५ प्रतिशत खर्च कम हुन्छ ।

पाल्पामा पछिल्लाे समय रम्भा, तिनाउ गाउँपालिकाले मात्र शुन्य विद्यार्थी भएका विद्यालयलाइ गाँभेकाे छ । पूर्वखाेला गाउँपालिकाले ५ वटा नीजि विद्यालयलाइ गाँभेकाे छ । यद्यपी अन्य गाउँपालिकाले भने अहिलेसम्म कुनै पनि विद्यालयलाइ गाँभेका छैनन् । तानसेन नगरपालिकाले ठूला विद्यालय बनाउने गरी याेजना अघि सारेकाे बताएकाे छ ।

३० भन्दा कम विद्यार्थी संख्या भएका विद्यालय कति छन् ?
१. तानसेन नगरपालिकामा १४ वटा विद्यालय
२. रामपुर नगरपालिकामा १३ वटा विद्यालय
३. रैनादेवी छहरा गाउँपालिकामा १४ वटा विद्यालय
४. रिब्दीकोट गाउँपालिकामा ११ वटा विद्यालय
५. तिनाउ गाउँपालिकामा ८ वटा विद्यालय
६. बगनासकाली गाउँपालिकामा ७ वटा विद्यालय
७. माथागढी गाउँपाािलकामा १० वटा विद्यालय
८. पूर्वखोला गाउँपालिकामा ६ वटा विद्यालय
९. रम्भा गाउँपालिकामा ११ वटा विद्यालय
१०. निस्दी गाउँपालिकामा ६ वटा विद्यालय

तथ्यांक स्राेत : शिक्षा विकास तथा समन्वय इकाइ पाल्पा ।

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update