Erani Mahal
भारतबाट फैलिएकाे विषाक्त बायु पाल्पामा पनि प्रवेश गरेकाे अनुमान
55

पाल्पा – तीन दिनदेखि लागेकाे तुवालाे जस्ताे देखिने विषाक्त हावा साेमबार दिउँशाेदेखि बढेकाे छ । भारतबाट फैलिएकाे विषाक्त बायु नेपालकाे सीमा हुँदै पाल्पामा पनि आइपुगेकाे अनुमान गरिएकाे छ । साेमबार दिउँशाेदेखि पाल्पाका विभिन्न स्थान विषाक्त बायुका कारण अध्याँराे बनेकाे बताइएकाे छ ।

शनिबार र आइतबार सामान्य मात्रामा धमिलाे देखिएकाे पाल्पाकाे बायुमण्डल साेमबार दिउँशाेदेखि अत्याधिक धमिलाे देखिएकाे यहाँका स्थानीय बासिन्दाले बताएका छन् । साेमबार दिउँशाेदेखि ५ सय मीटर टाढा पनि अत्याधिक धमिलाे माैसम देखिएकाे तानसेनका स्थानीय चिरन्जीवि घिमिरेले बताउनुभयाे ।

अन्य बेला पाल्पाकाे माैसम सफा र सयाैँ काेष टाढा पनि देखिने पहाडहरू साेमबार दिउँशाेदेखि भने पाँच सय मिटर टाढाकाे पहाड नदेखिएकाे पाल्पाबासीकाे भनाइ छ । एक साताअघि भारतकाे हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आगो लगाएपछि विषाक्त बायु फैलिएकाे संचारमाध्यम समाचार आएका थिए ।

भारतबाट फैलिएकाे विषाक्त हावा नेपालकाे सीमावर्ती क्षेत्र, रून्देही, नवलपरासी कपिलवस्तु हुँदै पहाडी जिल्ला पाल्पासम्म आएकाे अनुमान गरिएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त कार्यालय प्रमुख विश्वनाथ न्याैपानेले पाल्पामा हावामा भएकाे विषाक्त कण मापन गर्ने यन्त्र नभएकाे बताउनुभयाे । उहाँले विषाक्त हावाबाट मानिसलाइ स्वासप्रश्वास सम्बन्धी राेग, छाला र आँखा सम्बन्धी राेग लाग्न सक्ने बताउँदै सचेत हुन आग्रह गर्नुभयाे ।

भारतमा ५० लाख मास्क बाँडियाे

भारतमा वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि राजधानी दिल्ली सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गर्न बाध्य भएका छन्। वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ।

दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्। हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।

प्रदूषण गम्भीर रूपमा बढेपछि सर्वोच्च न्यायालयको अनुमतिमा गठित एउटा समितिले दिल्ली र आसपासका अन्य दुई राज्यमा विभिन्न खाले प्रतिबन्धहरू लगाएको छ। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली “ग्यास च्याम्बर” मा परिणत भएको बताएका छन्।

वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन्। अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन् । बर्सेनि यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरूले सरकारसँग आक्रोश पोखेका छन्। प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ।

दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ। त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धूँवा अन्य कारक हुन्। चिसो सुरु भएसँगै दिल्लीमा बढ्ने प्रदूषण पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरू बताउँछन्।

हलुका हुने भएकाले ती मसिना कणहरू धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै हजारौँ किलोमिटर टाढासम्म पुग्न सक्छन्।

नेपालको राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने रौँभन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

काठमाण्डूको रत्नपार्कमा रहेको प्रदूषण मापक यन्त्रमा शनिवार बिहान त्यो मात्रा बढेर १६६ अर्थात् चारगुणाभन्दा बढी भएको देखिएको थियो। त्यहाँ अठचालीस घण्टामा त्यो मात्रा न्यूनतम ६८ र अधिकतम १७६ पुगेको थियो। काठमाण्डूका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरूले वायु प्रदूषणको मात्रा बढिरहेको देखाएका छन्।

त्यस्ता साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छन्।

जाडो याममा वायुमण्डलमा ‘ब्राउन क्लाउड’ भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गरेकाले समस्याहरू थप जटिल बन्ने विज्ञहरूको भनाइ छ। सामान्य मास्कले पनि रोक्न नसक्ने भएकाले त्यस्ता कणको जोखिमबाट बच्न छिमेकी देशहरूबीच एकीकृत प्रयासको आवश्यकता औँल्याइने गरेको छ।

सीमा नाघेर हुने वायु प्रदूषणको अवस्थासँग जुझ्न आपसमा जोडिएका नेपालसहित विभिन्न आठ मुलुकले सन् १९९८ मा माल्दिभ्समा ‘माले घोषणापत्र’ जारी गरेका थिए। तर त्यसका लागि पर्याप्त काम हुन नसकेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ विविसीले समाचार प्रकाशित गरेकाे छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update