Erani Mahal
'भैरवस्थानका अधिकारीकाे बुढेसकालमा पनि पशुपालनमा जाँगर'
IMG_0037

पाल्पा – उमेरले ८० वर्ष काट्यो तर रिब्दीकोट–४, भैरवस्थानका ८० वर्षिया बृद्ध हुमलाल अधिकारीलाई भने पशुपालनमा अहिले पनि युवा अवस्थाकै जाँगर छ । धेरै मानिसले बृद्ध अवस्थामा काम गर्दैनन् तर अधिकारीलाई भने बिहानदेखि साँझसम्म गाई र भैँसीको स्याहारसुसार गर्न भ्याईनभ्याई छ ।

वर्षौदेखि परम्परागत पशुपालनका गर्दै आउनुभएका अधिकारीले चार वर्ष अघिदेखि मात्र व्यावसायिक पशुपालन सुरु गर्नुभएको हो । व्यावसायिक पशुपालनबाट अहिले उहाँले दैनिक एक सय २० लिटर दुध बिक्री गरिरहनुभएको छ ।

वि.स. २०७३ सालमा काश्यप पशु विकास फार्म खोलेपछि अधिकारीले अहिले विदेश जाने युवाले भन्दा दोब्बर बढी आम्दानी दुध बिक्रीबाट गरिरहनुभएको छ । गाईको दुध बिक्रीबाट प्रतिलिटर ५० र भैँसीको दुधबाट प्रतिलिटर ८० रुपियाँ प्राप्त गरेको उहाँको भनाई छ ।


काश्यप फर्ममा अहिले दश वटा गाई र तीन वटा दुहुनो भैँसी छन् । गाई र भैँसीले गरेर दैनिक एक सय २० लिटर दुध सङ्कलन हुन्छ । दैनिक सय लिटर बढी दुध बिक्री गरेर मासिक एक लाखसम्म आम्दानी गर्ने अधिकारीले बताउनुभयो । उमेरले बुढो भएपनि जाँगरले आम्दानी राम्रै भएको छ उहाँले भन्नुभयो काम गर्दा स्वास्थ्य पनि राम्रै छ ।

उहाँको फर्ममा उहाँसँगै श्रीमती र अन्य दुई जना काम गर्ने मानिस पनि छन् । फर्ममा काम गर्ने दुई जना युवालाई रोजगारी पनि दिएको छु अधिकारीले भन्नुभयो उनीहरूसँगै म पनि काम गर्छु । अधिकारीले हरेक दिन बिहानैदेखि साँझसम्म फर्ममा दुध दुहुने, गोबर तथा घाँसको व्यवस्थापन गर्ने गर्नुहुन्छ ।

बुढेसकालमा पनि काम गरेर राम्रो आम्दानी गर्न सकेकोमा उहाँ खुसी हुनुहुन्छ र मिहिनेत गर्ने हो भने नेपालमै धेरै गर्न सकिने रहेछ भन्ने उहाँलाई लागेको छ । जीवनको उत्तरार्धमा नाम र दाम मात्र होइन कामले स्वास्थ्य भएको उहाँको अनुभव छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update