Erani Mahal
रकम संकलन गरेकाे एक दशकपछि पाल्पाकाे गल्धामा बत्ति बल्याे
nepal-bidhut

पाल्पा – निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा ११ वर्ष पछि बिजुली बत्ति बलेको छ । बिजुली बत्ति बाल्न रकम संकलन गरेको ११ वर्षपछि निस्दीको गल्धामा बिजुली बत्ति बलेको हो ।


स्थानीय लालीगुराँस विद्युत सहकारीले जिम्मेवारी लिएर वि.सं २०६५ देखि रकम संकलन गरेको थियो । गाउँका बासिन्दाले प्रत्येक घरबाट सामुदायिक विद्युतीकरण गर्ने उद्देश्यले ११ वर्षअघि नै प्रतिघर पाँच हजार देखि दश हजारका दरले चन्दा सङ्कलन गरेको बताउँछन् ।


दश वर्षअघि देखि नै गाउँलेसँग रकम उठाएपछि सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेको हो । रकम संलकन गरेको एक दशकपछि बिजुली बत्ती बल्न सफल भएको लालीगुराँस विद्युत् सहकारीका अध्यक्ष दुर्गाबहादुर सोमईले बताउनुभयो ।

बत्तीमुनिको अध्याँरोमा बसेका निस्दी गल्धाका तीन सय घरधुरीमा एकैसाथ बिजुली पुगेपछि अहिले गाउँ नै झिलिमिली बनेको वडा अध्यक्ष भीमबहादुर बयम्वुले बताउनुभयो । लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षौदेखि टुकीको भरमा जीवन बिताएका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुशी भएका छ्न । विद्युत नहुँदा विद्यार्थीलाई पठनपाठन, स्थानीय बासिन्दालाई कुटानी पिसानी, मोबाइल चार्ज गर्न निकै कष्ट भोग्नु परेको थियो ।

विद्युत् सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा भएको स्थानीय बासिन्दाहरूको भनाई छ । विद्युत् नहुँदा सामान्य कामका लागि पनि तीन घण्टाको यात्रा गरेर रामपुर नगरपालिका नै जानुपर्ने समस्या थियो । अब विद्युत्को समस्या लिएर अन्त जान पर्दैन अध्यक्ष सोमैले भन्नुभयो गाउँमा बिजुली बत्ति बलेपछि गाउँ नै उज्याँलो बनेको छ ।

सहकारीले विद्युतको पहुँच नपुगेको निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत विस्तार गर्ने योजना राखेको छ । तीन सय घरधुरीमा बिजुली बत्ति बाल्नका लागि तीस लाख भन्दा बढी खर्च भएको सहकारीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०७६  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update