Erani Mahal
१ हजार ५ सय बढी विपन्न परिवारकाे तानसेन नगरपालिकाद्वारा स्वास्थ्य विमा
palpanepal

तानसेन – तानसेन नगरपाािलकाले विपन्न दलित, अल्पसङ्ख्यक र स्वास्थ्य स्वयम्सेविकालाई लक्षित गरी एक हजार पाँच सय ८८ घरपरिवारको स्वास्थ्य विमा गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा तानसेनभित्रका सबै दलित परिवार, विपन्न परिवार, अल्पसङ्ख्यक (बोटे, कुमाल, माझी) समुदाय र स्वास्थ्य स्वयम्सेविकाको स्वास्थ्य विमा गरेको हो ।


नगरभित्रका आधारभूत वर्गलाई स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन नगरपालिकाले एक हजार दुई सय ८९ विपन्न दलित समुदायको स्वास्थ्य विमा गरेको छ ।

नगरभित्रका दलित तथा विपन्न समुदायका विमा गरेपछि करिब छ हजार बढी परिवार लाभान्वित भएका छन् । यस्तै नगरभित्र बसोबास गर्ने अल्पसङ्ख्यक बोटे, कुमाल, माझी, गुरुङ्, र दराई समुदायका दुई सय २३ परिवारको स्वास्थ्य विमा गरिएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सिरबहादुर रानाले जानकारी दिनुभयो ।


नगरपालिकाले नगरभित्र सक्रिय रहेका ७६ जना स्वास्थ्य स्वयम्सेविकाहरूको पनि स्वास्थ्य विमा गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको ४० लाख बजेटबाट स्वास्थ्य विमा गरिएको हो । कुल एक हजार पाँच सय ८८ परिवारको झण्डै आठ हजार जनाको स्वास्थ्य विमा गर्दा नगरपालिकाले ३८ लाख २२ हजार लगानी गरेको स्वास्थ्य संयोजक रानाले जानकारी दिनुभयो ।


आर्थिक रुपमा विपन्न जसले स्वास्थ्य विमा गर्न सक्दैनन् र आफ्नै पैसा खर्च गरेर उपचार गर्न सक्दैनन् ती परिवारलाई लक्षित गरी स्वास्थ्य विमा गरिएको तानसेन नगरपालिकाले जनाएको छ । संविधानमा उल्लेख भएको नागरिकका मौलिक हक सही र यथार्थ रुपमा कार्यान्वयन गर्न स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो । नगरभित्रका गरिब दलित, अल्पसङ्ख्यक र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्षित गरेर कार्यक्रम गरिएकाले स्वास्थ्य विमा कार्यक्रमले विपन्न, अल्पसङ्ख्यक र स्वयम्सेविका लाभान्वित भएको नगरप्रमुख शाहीले बताउनुभयो ।


स्वास्थ्य विमा गरेका व्यक्तिहरूले यो कार्यक्रमबाट आफूहरूले धेरै फाइदा लिएको बताएका छन् । दुई हजार पाँच सय रुपियाँ नभएर अस्पतालमा जाने अवस्था नै नभएका विपन्नलाई नगरपालिकाले गरेको स्वास्थ्य विमाले रोग पालेर बस्नुपर्ने अवस्थाबाट मुक्त गरेको उनीहरूको भनाई छ । तानसेन–५, का कर्णबहादुर विकले नगरपालिकाले स्वास्थ्य विमा गरेपछि छोरा, श्रीमान् र आफ्नै उपचार अस्पतालमै गएर गरेको बताउनुभयो ।

पहिले पैसा नभएर घरमै थला परेर सुत्नुपर्ने अवस्था थियो विकले भन्नुभयो अहिले स्वास्थ्य विमाबाट ५० हजारसम्मको उपचार हुने भएपछि अस्पतालमै जान्छौँ । स्वास्थ्य विमा कार्यक्रमले विपन्न समुदायलाई खुसी बनाएको र आफूहरूलाई सरकार भएको महसुस भएको उनीहरू बताउँछन् । स्वास्थ्य विमा गरेपछि आफूले थाईराईडको चेकजाँच र औषधि नियमित रुपमा निशुल्क पाएको तानसेन–१०, बाझबारीटोलकी सीता विकले बताउनुभयो । - साभार : 'हाम्राे तानसेन' त्रैमासिकबाट

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update