Erani Mahal
पाल्पा उद्याेग वाणिज्य संघकाे नेतृत्वमा तीन जनाकाे चर्चा
palpa

पाल्पाकाे विकास र व्यवसायीहरूकाे नेतृत्व गर्न सक्ने मान्छे आवश्यक

पाल्पा – पाल्पा उद्योग वाणिज्य संघको १५ औँ अधिवेशनसँगै नयाँ नेतृत्व लिने रस्साकस्सी सुरु भएको छ । पाल्पाका व्यापारी उद्योगीको साझा संस्थाको रुपमा रहेको संघको अधिवेशन सुरुसँगै अध्यक्ष र अन्य पदाधिकारीहरूमा समेत प्रत्यासीहरूको चर्चा सुरु भएको छ ।

संघका वर्तमान अध्यक्ष माेहनप्रसाद श्रेष्ठ पुन आफै अध्यक्ष बन्ने चर्चा छ । यस्तै वर्तमान उपाध्यक्ष शैलेन्द्र भट्टराइले पनि आफू अध्यक्षकाे दावेदार रहेकाे बताउनुहुन्छ । यस्तै महासचिव यादव सिंह कार्कीकाे नाम पनि अध्यक्षका लागि चर्चामा छ ।

उता पाल्पाका व्यवसायी भुगाेल प्रसाद बैंजुले समेत उम्मेदवारी दिने तयारी गर्नुभएकाे छ । वर्तमान पदाधिकारीहरूकाे बीचमा बैंजुले कुनै पनि समूहबिना आफूले अध्यक्षमा प्रतिष्पर्धा गर्ने बताउनुभएकाे छ । १४औं अधिवेशनमा समेत बैंजुले उम्मेदवारी दिनुभएपनि पराजित हुनुभएकाे थियाे ।


वर्तमान संघका अध्यक्ष श्रेष्ठ पुन अध्यक्ष बनेपनि तानसेनमा घटिरहेको व्यापारलाई नयाँ ढंगबाट लैजाने चुनौती छ । वर्तमान उपाध्यक्षले समेत २/३ पटक संघमा बसेर निर्यायक भूमिका खेल्न नसक्नुभएको आरोप छ । तानसेन लगायत पाल्पाको समग्र उद्योगी व्यवसायीको हित अनुकुल काम हुन नसकेको आरोप संघले विगत देखि नै खेपिरहेको छ । यतिमात्र हाेइन, तानसेनकाे विकासका याेजनामा समेत संघका केही पदािधकारी अबराेधक बनेकाे कतिपयकाे आराेप छ ।


तानसेनको समग्र विकासमा भन्दा पनि यहाँका केही पदाधिकारीको व्यक्तिगत स्वार्थमा संघ लिप्त भएको स्वयम् व्यवसायीहरुको भनाइ छ । यस्तो अवस्थामा पाल्पाली व्यापारी व्यवसायीहरुले सबैको हितमा निष्पक्ष रुपमा काम गर्ने नेतृत्व खोजिरहेका छन् । संघकाे निर्वाचनको कार्यतालिका अनुसार आगामी कात्तिक २३ गते संघकाे निर्वाचन हुँदैछ ।

पछिल्लाे समय तानसेन लगायत पाल्पाकाे व्यापार व्यवसाय घट्दाे छ । यहाँका व्यापारी व्यवसायीकाे चिन्तन र व्यापार व्यवसायमा अपनाइएकाे पुरानै ढर्राका कारण ग्राहककाे आकर्षण कम छ । तानसेनमा महंगाे घरभाडाका कारण पनि व्यापारी व्यवसायी पलायन हुने स्थिति बढ्दाे छ ।

यस्ताे अवस्थामा पाल्पाका व्यापारी, उद्याेगीहरूकाे समग्र हितमा नयाँ नेतृत्वले काम गर्नुपर्नेछ । संघका पदाधिकारी व्यापार मेला गर्ने भन्दा पनि तानसेन र आम पाल्पाकाे विकासका लागि उद्याेगी व्यवसायीलाइ लगानी गर्न प्राेत्साहन गर्ने, खास गरी पर्यटन विकासमा नीजि क्षेत्रलाइ अगाडि बढाउने सवालमा संघले निर्णायक भूमिका खेल्नुपर्ने देखिन्छ ।

नेपालका पर्यटकीय क्षेत्रमा उद्याेगी व्यापारीहरूले नै पर्यटनकाे मुख्य जिम्मा लिएर काम गरेकाे देखिन्छ । तर पाल्पामा तानसेन नगरपालिकाले पर्यटनकाे क्षेत्रमा काम गरेन, वा सरकारले गरेन भनेर व्यवसायी स्वयमले गर्ने काममा पनि नीजि क्षेत्रकाे गुनासाे मात्र देखिन्छ । यस्ताे अवस्थामा पाल्पालाइ मुख्य रूपमा पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्न स्थानीय र केन्द्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने र सबै व्यापारी व्यवसायीलाइ त्यसतर्फ डाेर्याउन सक्ने नेतृत्वकाे खाँचाे छ ।

नीजि क्षेत्रले विकासमा सहकार्य र हातेमालाे नगरे सरकारले मात्र गरेकाे विकास दीगाे रहन सक्दैन । यहाँका व्यवसायीलाइ कसरी व्यवसायिक बनाउने हाे, कसरी ग्राहकमैत्री बनाउने हाे, त्याे विषयमा समेत नेतृत्वकाे ध्यान जान सकेकाे छैन । संघकाे चुनाव आउदा सबैथाेक गर्छाै भन्ने पछि आफ्नै स्वार्थ र व्यक्तिकेन्द्रित हुँदा स्वयम् संघलाइ नै घाटा पुग्ने देखिन्छ ।

पछिल्लाे समय संघकाे नेतृत्वमा नैतिकताकाे खडेरी समेत देखिएकाे व्यापारीहरूकाे गुनासाे छ । यस्ताे अवस्थामा सामाजिक रूपमा नैतिक चरित्र भएकाे नेतृत्व पनि आवश्यक देखिन्छ । जसले ठाडाे शीर गरेर व्यापारी र व्यवसायीहरूकाे हितमा काम गर्न र आवाज उठाउन सकाेस् । (समाचार टिप्पणी)

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update