Erani Mahal
पाल्पामा जनप्रतिनिधिले 'तँ सार्की' भन्दै काम गर्ने मजदुरलाई कुटे
palpa_Cd0VMozEqF

पाल्पा - पाल्पाकाे तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गर्नुभएकाे छ । उहाँले आइतबार बिहान नेपालीलाई कुटेका पीडित नेपालीले बताउनुभयाे ।

नेपालीको दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको पनि छ। अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ। वडा सदस्य विष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाबसहित आफूले पाउनुपर्ने रकम माग्दा आफूलाई कुटपिट गरेको पीडित नेपालीले बताउनुभयाे।

विष्टले आफूलाई मुक्का र लात्तीले हानेको नेपालीले आरोप लगाउनुभएकाे छ । गत माघ महिनामा १२ हजारमा घरको गारोमा प्लाष्टर गर्नका लागि विष्ट र नेपालीबीच सम्झौता अनुसार नेपालीले समयमै काम सम्पन्न गरेकाे बताउनुभयाे । तर, ज्यालाको रकम भने आफूले अहिलेसम्म नपाएका कारण ज्याला माग्न जाँदा कुटेकाे उहाँकाे भनाइ छ ।

आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जानेक्रममा नेपाली र विष्टबीच बाटोमा भेट भएको थियो। 'उहाँले कता हिँड्नुभयो भनेर मलाई सोध्नुभयो। मैले तपाईंको घरमा कामको हिसाब गर्न हिँडेको भनेर जवाफ दिएँ,' 'नेपालीले भन्नुभयाे साेही क्रममा एक्कासि अपशव्द प्रयाेग गर्दै मलाई चिनेको छस्, म को हो, भन्दै मुक्काले र लात्तीले हान्न थाल्नुभयो।

आफूलाई तल्लो जाति सार्की भन्दै कुटपीट गरेको आरोपसहित नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिनुभएकाे छ ।

तस्विर : पत्रकार मिलन विककाे सहयाेगमा ।

यता वडा सदस्य विष्ट आफूले कुटेको स्वीकार गर्नुभएकाे छ । 'नेपालीले मलाई पहिला हात हाल्नुभयो' त्यसपछि मैले त्यसको प्रतिकार गर्दै हानेको हुँ, विष्टले भन्नुभयाे । रिसको झोंकमा ४/५ थप्पड गालामा हानेको हुँ' उहाँले भन्नुभयाे । विष्ट नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update