Erani Mahal
बेस नेपालको २७ औं साधारण सभा   तथा विभिन्न व्यक्तित्वलाई सम्मान
74942859_1678447778947198_3447804182482911232_n

पाल्पा-पाल्पाको पुरानो तथा अग्रणी संस्था पछौटेपन उन्मुलन समाज बेस नेपालको २७ औं साधारण सभा सम्पन्न गरेको छ । २०४९ सालमा पाल्पाको पुर्व वाकामलाङ्गमा स्थापना भएको बेस नेपालले हाल पाल्पा सहित नवलपरासी र नवलपुर जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।

संस्थाको सम्पर्क कार्यालय रामपुरमा भएको साधारण सभाको उद्घाटन गर्नुहुदै प्रदेश नं.५ का सांसद युवराज खनालले तिन वटै सरकारले स्थानीय गैरसरकारी संस्थाहरुसँग मिलेर समुदायसम्म पुग्न सके सामाजिक तथा आर्थिक विकासमा टेवा मात्र नभई समृद्ध नेपाल सुखी नेपालीको अभियान साकार हुने बताउनुभयो ।

कालीगण्डकी तटबाट उदाएको संस्था परिपक्क हुदै गर्दा त्यही कालीगण्डकी डाईभर्सनको चर्चाको बिषयबस्तुमाथि बोल्दै सांसद खनालले प्राकृतिक रुपले दिएको शालिग्राम पाइने एकमात्र नदीले यस क्षेत्रलाई महत्व दिएको छ उहाँले भन्नुभयो–सिंचाई गर्नुपर्ने ठाउँ गण्डकीबेशीमा धेरै छ, यही अबस्थाले कालान्तरमा खानेपानीको समस्या सिर्जना हुनेछ, स्थानीय पालिका, जनप्रतिनिधि, संघसंस्थाले जनताको धारणा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनताको इच्छा चाहानाको पक्षमा आफु उभिएको बताउदै कालीनदीको पानी सदुपयोगमा ध्यान दिनुपर्नेमा सबैलाई आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी आचार्य घिमिरेले बेस नेपालले बालबालिका, महिला, शिक्षा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो । नगरपालिका सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बेस नेपालको सहकार्यमा पुर्वखोला गाउँपालिकाका वडालाई प्रदेशमा नै पहिलो पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएको स्मरण गर्दै सामाजिक संस्थाहरु बिना जनतासम्म पुग्न सरकार नसक्ने बताउनुभयो ।

रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्थानिय सरकारले निति नियम बनाउने र कार्यान्वयन गर्न संस्थाको अपरिहार्य रहेको बताउनुभयो । रम्भा गाउँपालिकाले तय गरेका सुचकाङ्क पुरा गर्न बेसले गरेको योगदान महत्वपुर्ण रहेको बताउदै मंसिरभित्रै शुन्य होम डेलिभरी घोषणा गर्ने गरि अगाडी बढेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका प्रतिनिधि विनोद श्रेष्ठ, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, सुआहारा कार्यक्रम पाल्पाका प्रमुख ज्ञानदिप आचार्य, रुम टु रिड पाल्पाका तपेन्द्र ओली, सम्मानित व्यक्तित्व डा.माधव प्रसाद पाण्डे, सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर बासुदेव ढकाल, कालीगण्डकी फाउण्डेशन नेपालका सचिव सीता डोटेलले बोल्दै बेस नेपालले सामाजिक कार्यसंगै जिल्लामा महत्वपुर्ण संस्थाको रुपमा आफुलाई उभ्याउन सफल भएको बताउनुभएको थियो ।

साधारण सभाको अवसरमा संस्थाले बिभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । बेस सुप्रशिद्ध सिर्जना पुरस्कार २०७६ बाट निस्दी गाउँपालिकामा पहिलो डाक्टर उपाधी हासिल गर्नुभएका ज्योतिषविज्ञ डा.माधव प्रसाद पाण्डेलाई पुरस्कृत गरेको छ । नगद ५ हजार तथा सम्मान पत्रले सम्मान गरिएकोमा डा.पाण्डेले सो रकममा ५ सय ५५ रुपँया थप गरि संस्थालाई नै प्रदान गर्नुभएको छ । यसैगरि संस्थाले कर्मवीर पुरस्कारबाट संस्थाका पुर्व अध्यक्ष तथा निस्दी १ का वडाध्यक्ष पूर्ण बहादुर खाँण, दिर्घसेवा पुरस्कारबाट दानबहादुर रजाली र शकुन्तला नेपालीलाई पुरस्कृत गरेको छ । पाँच वर्ष पुरा गरेका उत्कृष्ठ कर्मचारी सम्मानबाट साक्षरता कार्यक्रमका भूपाल आले, सुआहारा कार्यक्रमका भागिरथी फाल र वार्षिक उत्कृष्ट कर्मचारी पुरस्कारबाट संगीता अधिकारी, कुश्माखर पाण्डे, पशुपति पन्थी र गेहेन्द्र पौडेल पुरस्कृत हुनुभएको छ ।

बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले संस्थाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पाल्पामा सुआहारा कार्यक्रमबाट ६८८३ जना र नवपरासी पुर्व र परासीमा ३१०५ जना हजार दिनका आमालाई भेट गरि आमा बच्चा र पोषिलो खानाका लागि कार्यक्रम प्रर्दशनी चलाइएको साथै कुपोषित बच्चाका परिवारलाई सल्लाह परामर्श गरिएको जानकारी दिनुभयो । साक्षरता कार्यक्रम अन्तर्गत पाल्पामा झण्डै ४ सय सामुदायिक विद्यालय मध्ये २०४ विद्यालयमा कार्यक्रम लगेकोमा अहिले ४३ बिद्यालयमा निरन्तर चलिरहेको बताउनुभयो । उहाँले कक्षा १ मा प्रतिमिनेट ३० अक्षर र २ कक्षामा प्रतिमिनेट ४५ शब्द पढ्न सक्ने हुनु गौरवको कुरा भएको उल्लेख गर्नुभयो । उहाँले यसवर्ष कालीगण्डकीको महत्व र कालीनदी डाईभर्सनका बारेमा जानकारी दिन प्रभावित क्षेत्रहरुमा सचेतना कार्यक्रम गर्ने बताउनुभयो ।

प्रदेश सभा सांसद खनालले सोही अबसरमा संस्थाको बार्षिक प्रतिवेदन समेटिएको बर्ष पुस्तक लोकार्पण गर्नुभयो भने कालीगण्डकी डाईभर्सन र हाम्रा कुरा बिषयक ब्रुसर बाडिएको थियो । संस्थाका अध्यक्ष छविलाल सुबेदीको अध्यक्षता, सचिव तुलसीराम गौतमको स्वागत र उपाध्यक्ष लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम चलेको हो । साधारण सभाको बन्द सत्रले अनुमानित आय ५ करोड १२ लाख ८ सय ४२ रुपँया र ४ करोड ९४ लाख १३ हजार ८ सय ४२ बराबरको व्यय रहेको प्रतिवेदन बहुमतले पारित गरेको छ ।

संस्थाका कोषाध्यक्ष मिन प्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र कार्यकारी निर्देशक शालिकराम पाण्डेले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन पारित गरेको हो । साथै कालीगण्डकी नदी डाईभर्सनको असरका बिषयमा सचेतना जगाउने नयाँ संकल्प सहित संस्थाको शंशोधित नियमावली र नयाँ नियमावली पास गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update