Erani Mahal
पाल्पामा भएकाे तीन घटनामा एककाे मृत्यु, दुई जना घाइते
111-1024x768-1042411311

पाल्पा – जिल्लाको विभिन्न स्थानमा बुधबार भएका घटनामा एक जनाको मृत्यु दुई जना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ६ गहतेफेदी भन्ने स्थानमा एक जना युवाले झुण्डी आत्महत्या गरेका छन् । तिनाउ ६ नं. वडाका २८ वर्षिय चन्द्रबहादुर बगालेले झुण्डी आत्महत्या गरेका हुन् ।

यस्तै तिनाउ गाउँपालिका वडा नं. ५ कै जोरधारा र रम्भा गाउँपालिका वडा नं. ४ स्थित घ्याङ्सिंपोखरामा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जोरधारामा भएको दुर्घटनामा तिलोत्तमा नगरपालिका रुपन्देहीकी ६५ वर्षिया शशीसरा थापा घाइते हुनुभएको छ । उहाँलाई बाटो क्रस गर्ने क्रममा पोखराबाट बुटवल जाँदै गरेको लु १ च ३११९ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

फाइल तस्विर । इरानीमहल डटकम ।

यस्तै आर्यभाङ्ज्याङ् रामपुर सडकखण्डको हुमिन घ्याङ्सिङ्पोखरामा भएको जीप र मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते भएका छन् । तानसेनबाट रामपुर जाँदै गरेको लु १ ज १७८५ नम्बरको जीपले बिपरीत दिशाबाट आएको लु १८ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी पूर्वखोला गाउँपालिका वडा नं. २, जल्पाका २१ वर्षिय गृष्म राना घाइते भएका छन् । घाइते रानाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । दुबै घाइतेको अवस्था मध्यम रहेको छ । प्रहरीले सवारी सधान र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच पाल्पा जिल्लामा पछिल्लाे समय दुर्घटना बढेकाे छ । एक सातामा पाँच भन्दा बढी दुर्घटना भएका छन् । दुइ जनाकाे मृत्यु भएकाे छ । पाँच जना भन्दा बढी घाइते छन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update