Erani Mahal
हतियार सहित सराँय नाचेर दशैँलाई बिदाई
96

पाल्पा – जिल्लाका विभिन्नका दशैँ घर, कोतघर, दुर्गा देवीको मन्दिर, थपना, मौलाथरमा भएका धारिलो हतियार जुधाउँदै (सराय) नाचेर यो वर्षको बडा दशैँलाई बिदाई गरिएको छ । कोजाग्रत पूर्णिमाको दिनमा नाचिने साहसिक सराय नाच हतियारको बिसर्जनसँगै अब एक वर्षसम्म यो नाच नाचिदैन ।


सराय नाचेपछि कोटघर, देवीका मन्दिरमा भएका हतियारको समेत प्रयोग गर्न नपाइने मान्यता रहेको संस्कृतिसम्बन्धी जानकार बुद्धिजीजि निर्मल श्रेष्ठ बताउनुहुन्छ । परम्परादेखि साहसिक खेल तथा नाचका रूपमा कोजाग्रत पूर्णिमाको दिनमा सराय नाचेर हतियार बिसाउने प्रचलन रहेको उहाँको भनाई छ ।


नेपालको पश्चिम भेगका पाल्पा, गुल्मी, अर्घाखॉची, प्यूठान साथै स्याङ्जाको केही भागमा भाला, तरबार र खुँडासहित साहसिक सराय नाच नाच्ने प्रचलन रहेको छ । दशैँको अवसरमा युद्ध अभ्यास वा युद्ध गरेको अभिनय गरेर खुँडा, खुकुरी तथा तरबार जुधाएर यो नाच नाच्ने परम्परा रहेको छ । परम्परादेखिनै युद्धमा प्रयोग हुने घरेलु हातहतियार खु“डा, खुकुरी, भाला, तरवार, ढालजस्ता हतियारहरू साहसिक खेल सरायमा प्रयोग हुने गरेको श्रेष्ठले बताउनुभयो ।


बडा दशैँको सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म स्थान अनुसार फरक–फरक समयमा सराय खेल्ने र नाच्ने गरिन्छ । तर पछिल्लो समय सराय नाच नाच्ने प्रचलन कम हुँदै गएको छ । पाल्पाको भैरवस्थान पूर्णाकोट, लिपिनदेवी, रैनादेवी छहरा, मुझुङ, मस्यामको हटिया, बल्ढेङ्गढी, सत्यवती, तानसेनको बौघागुम्हा, पूर्वी भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धामा रहेका दशैँघरमा फुलपाती भित्र्याएपछि हतियार विर्सजन गर्नुपर्ने मान्यताका साथ सराय खेलिन्छ ।

अष्टमी, नवमी र दशमीको दिनमा तरवार ठोक्काउने, वलि दिइएका पशुको टाउकोलाई वाख्खई गर्दै नचाउने जस्ता क्रियाकलाप गरेर रमाईलो गरिन्छ । कोतघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पन्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउदै बडादशैँलाई बिदाई गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update