Erani Mahal
रिब्दीकोटका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण
tomato-ribdi-1024x686

नेत्र गैरे – कृषकहरुको पसिनाको कदर गर्दै रिब्दीकोट गाउँपालिकाले टमाटर उत्पादक किसनहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको वडा नं ७ मैनादीका कृषकहरुबाट उत्पादीत १ लाख ५ हजार ८ सय ३२ किलो टमाटर उत्पादन गरेबापत गाउँपालिकाले २ लाख २३ हजार ४ सय ४ रुपौयाँ अनुदान रकम वितरण गरेको हो ।

अनुदान रकम वितरण गर्दैै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले किसानको सहभागीतामा बृद्धि साथै कृषकको मनोबल बढाउन सहकारीमा संगठित भई कृषि पेशा अन्तर्गत टमाटर खेति गरेका कृषकको प्रोत्साहनको लागि अनुदान सहयोग गरेको बताउनुभयो ।

उहाँले यस वडालाई मासु र सुन्तलाको उत्पादनको वृद्धिको लागि पनि उत्पादनको आधारमा अनुदान वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषि अर्यालले बेरोजगार युवाहरुलाई कृषि पेशामा आर्कषण बढाउनुका साथै उनिहरुलाई प्रोत्सहान गर्न गाउँपालिकाले अनुदान कार्यक्रम ल्याएको बताउनुभयो । उत्पादीत वस्तुमा विषादी न्यूनिकरण गरि अर्गानिक उत्पादनमा वृद्धि गर्दै रिब्दीकोटको समृद्धिमा सबैको साथ र सहयोग रहने उहाँको भनाई छ ।


६ वर्ष पहिले देखि टमाटर खेती गर्दै आएकी एकल महिला लिला कुवरले आफुले उत्पादन गरेको वस्तुको प्राप्त मुल्यको साथै गाउँपालिकाले दिएको अनुदानले आफुलाई थप कृषि कार्य गर्न हौसला मिलेको बताउनुभयो ।

मैनादी सहकारीकी कर्मचारी शुसिला कुवरले दिउँसो जागिरमा गए पनि साझ विहान घरको काम सँगै कृषि कार्य गरि उत्पादन गरेको टमाटरबाट पनि अनुदान प्राप्त गर्न पाउँदा ब्यवसायिक रुपमै टमाटर खेति गर्न पोत्सहान मिलेको बताउनुभयो ।

यस्तै कृषक लुम बहादुर कुवरले यस वर्ष आफुले करिब ८३ क्विनटल टमाटर विक्रि गरि एक सिजनमा मात्रै ३ लाख ८३ हजार बुझेको र यसबापत अनुदान स्वरुप १५ हजार ८ सय पच्चिस रकम पाएकोमा उक्त रकमबाट तरकारीको मल विउँ खरिद गरि अर्को सिजनको लागि तयारीमा रहन प्रेरणा मिलेको बताउनुभयो ।

वडामा रहेको मैनादी कृषि सहकारी संस्थाका १ सय १४ सदस्य कृषक मध्ये ४८ जना कृषकहरु टमाटर खेतिमा संलग्न रहेको सहकारीका अध्यक्ष बेन बहादुर पुनको भनाई छ ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update