Erani Mahal
आज महानवमी, पाल्पाका दुर्गा मन्दिर, काेतघर र दशैँ घरमा पूजा गरिँदै
ddd

पाल्पा - आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने देवी दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ ।

पाल्पाका विभिन्न मन्दिर, काेतघर, दशैँ घरलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिएकाे छ ।

पशुबलि नदिनेले भने आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर पायस पनि चढाउने गर्दछन् ।

पाल्पाकाे भैरवस्थान, रैनादेवी छहरा, मदनपाेखराकाे काेकलदेवी, बगनासदेवी, सत्यवती, जल्पादेवी, सरापकाेट, मलेवादेवी लगायतका स्थानमा बली दिइएकाे छ । पाल्पाका विभिन्न शक्तिपीठ र काेतघरमा बली दिइएकाे हाे ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update