Erani Mahal
पाल्पाका बजारमा जताततै म्याद नाघेका पेप्सी, काेक, फेन्टा, बिस्कुट, लेज !
rampura-1-1000x642

पाल्पा – चाड पर्वलाई मध्यनजर गर्दै पाल्पाका स्थानीय तहहरूले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएका छन् । विभिन्न स्थानीय तहले गरेकाे बजार अनुगमनमा काेकाकाेला, पेप्सी, फेन्टा, बिस्कुल, तेल, लेज लगायतका बस्तु म्याद नाघेका भेटिएका छन् ।

जिल्लाकाे तानसेन, रामपुर, रिब्दीकाेट, माथागढी गाउँपालिकाले गरेका बजार अनुगमनका क्रममा पत्रु खाना (जंक फुड)हरू जताततै म्याद नाघेका बिक्रीका लागि राखिएकाे भेटिएकाे हाे । रामपुर नगरपालिकाले रामपुरको बेझाँड बजार चोक, सहकारी पथ हुँदै बाङ्गेपसल चोकसम्मका ५० वटा भन्दा बढी उद्योग तथा पसलहरूको अनुगमन गरेको छ ।


रामपुर नगरपालिकाका उप्रमुख विष्णु देवी घिमिरे आचार्यको नेतृत्वमा इलाका प्रशासन कार्यालय रामपुर, इलाका प्रहरी कार्यालय रामपुर, जनप्रतिनिधि, नगरपालिकाका स्वास्थ्य, कृषि र पशुशाखा कर्मचारीहरु सहितको टोलीले बजार अनुगमन गरेको थियो ।


अनुगमनको क्रममा पसलहरू नगरपालिकामा दर्ता नभएको, दर्ता गरेपनि नविकरण नगरेको, मुल्यसूचि टाँस नगरेको पाईएको थियो । टोलीले यथाशिघ्र दर्ता तथा नविकरण गर्न, मुल्यसूचि, होर्डिङ्ग बोर्ड राख्न सुझाव दिएको छ ।


अनुगमनका क्रममा उद्योग तथा पसलहरूमा भेटिएका म्याद नाघेका तथा उत्पादन मिति उल्लेख नगरेका सामानहरू जफत गरेको थियो । जफत गरिएका सामग्री रामपुर नगरपालिकाको परिसरमा नष्ट गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले अनुगमन पछि केही उद्योगहरूलाई दर्ता र नविकरण गर्न निर्देशन दिइएको छ । उहाँले दर्ता नगरेका केही उद्योग तथा पसलहरूमा सिल गरेको र दर्ता पछि खुल्ला गरिएको बताउनुभयो ।


यस्तै तानसेन नगरपालिकाले समेत तानसेन बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा केही पसलबाट फेला परेको अखाद्य बस्तु नष्ठ गरिएको छ । अनुगमनका क्रममा भेटिएका कमीकमजोरी तत्काल सच्याउन निर्देशन दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिनुभयो ।

पाल्पाको रिब्दीकोट र माथागढी गाउँपालिकाले समेत बजार अनुगमनलाई तीव्रता दिएका छन् । दुबै गाउँपालिकाले गरेकाे बजार अनुगमनमा पेप्सी, काेट, फेन्टा, लेज, बिस्कुट जस्ता पदार्थ म्याद गुज्रेका भेटिएपछि जफत गरिएकाे थियाे । यस्तै पसल दर्ता नगरी संचालन गरिएकाे, नवीकरण नगरेकाे जस्ता कमजाेरी भेटिएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update