Erani Mahal
बडादशैँमा भैरवनाथका भक्तजनलाई निशुल्क यातायातकाे सुबिधा
60224338_140423263710980_1811820241112024850_n

पाल्पा - प्रशिद्ध भैरवनाथ मन्दिरमा आउने भक्तजनलाई सुबिधा हाेस् भनेर भैरवस्थान मन्दिरले तीन दिन निशुल्क यातायात सञ्चालन गर्ने भएको छ । दशैँको सप्तमी देखि नवमीसम्म मन्दिरमा पुजाका लागि आउने भक्तजनलाई यात्रा गर्न सहज हुने गरी निशुल्क यातायातको व्यवस्था गरिएकाे हाे ।


ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा दशैँको बेलामा पुजा गर्न आउने दर्शनार्थीहरूको अत्याधिक भीड लाग्ने गरेको छ । दर्शनार्थीलाई सहज रुपमा मन्दिरसम्म आउन र जान सक्ने गरी तानसेनदेखि भैरवस्थानसम्म जान र आउनका लागि सवारीसाधनको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अघिकारीले जानकारी दिनुभयो ।

भैरवस्थान मन्दिरमा वर्षभरि आउने दश लाख आन्तरिक भक्तजनमध्ये ५० प्रतिशत दशैँको बेलामा मात्र आउने भएकाले यातायातको व्यवस्थ गरिएको हाे । यो अवधिमा दैनिक १५ हजारसम्म भक्तजनहरू आउने भएकोले सहज यात्रा गर्न यातायातको प्रवन्ध गरिएकाे छ । यस्तै अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र गर्भवती महिलाले लाइनमा बस्नु नपर्ने गरी व्यवस्थापन गरिएको छ ।
तानसेनबाट आउने र जाने भक्तजनलाई निशुल्क यातायातको व्यवस्थापन गरेपछि भक्तजन अझै बढ्ने विस्वास समितिको छ । पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही जिल्लाबाट दशैँमा भैरवस्थान आउने भक्तजनलाई यहाँ आउने गर्दछन् ।

बडादशैँमा यहाँ विशेष गरेर राेट चढाउने, बली दिने, पन्चबली गर्ने, भाकल गर्ने भक्तजनहरूकाे घुँइचाे लाग्ने गरेकाे छ । भैरवनाथ मन्दिरलाइ देवीकाे शक्ति पीठकाे रूपमा समेत लिइने भएकाले दशैँमा यहाँ सबैभन्दा बढी भक्तजन आउने गरेकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update