Erani Mahal
रानीमहल-स्याङ्जा जाेड्ने पुलमा पहिराे खस्दा निर्माणमा ढिलाई
Untitled-1-copy-7

पाल्पा – पाल्पाको ऐतिहासकि पर्यटकीय स्थल रानीमहल र स्याङ्जाको सटुका जोड्ने निर्माणाधीन कालीगण्डकी पुलमा पहिरोले क्षति पु¥याएको छ । दुई जिल्ला जोड्ने पुल निर्माणको सम्पन्न हुने समयमा पहिरोले १५ मिटर भन्दा बढी पुल पुरेपछि पुल सम्पन्न हुनबाट रोकिएको हो ।


माथिबाट निरन्तर खसेको पहिराले निर्माणधीन पुलको कतिपय ठाउँमा सिमेन्ट र छडको ढलान गरिएका फुटपाथ चर्किएको छ । गत असारबाट असोजको दोस्रो हप्तासम्म खसिरहेको पहिरोका कारण कालीगण्डकीमा बनेको पुल थपिएको म्यादभित्र सम्पन्न हुन सकेन ।


वि.स. २०७१ सालको असार ३० गते सम्झौता भएको पुलको सम्पन्न गर्नुपर्ने मिति २०७४ असार ८ गतेसम्म रहेको थियो । तर निर्माण व्यसायीले निर्माणमा गरेको ढिलाईले बीचमा म्याद थप गरेर २०७६ सालको भदौ २४ सम्म काम सम्पन्न गर्नुपर्ने बनाइएको थियो ।

अहिले पुल सम्पन्न हुने बेलामा माथिबाट पहिरो गएपछि पुल निर्माण सम्पन्न हुन नसकेको पश्चिम सेक्टर क्षेत्र नं. ४ को कार्यालय पाल्पाका योजना प्रमुख भीमार्जुन कडेलले बताउनुभयो ।


पहिरोले पुलमा क्षति पु¥याएपनि पुलको पाइल र मुख्य बीममा भने खासै असर नगरेको पुल योजना प्रमुख कडेलको भनाई छ । पुलमा खासै असर गरेको छैन, डेढ मिटर जति फुटपाथमा क्षति पुगेको छ उहाँले भन्नुभयो पानी रोकिनासाथ क्षति भएकामा निर्माणको काम हुन्छ ।


छ वर्षअघि सपना–हिमदूङ–ठोक्कर–त्रशुली जेभीले १९ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । निर्माण व्यवसायीले पनि पछिल्लो पटक थप भएको म्यादमा काम सक्ने गरी काम गरेको थियो तर पहिरोका कारणले काम सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी रोकिएको निर्माण व्यवसायी हरि ढकालले बताउनुभयो ।


पुल सकिने बेलामा आकस्मिक पहिरो खसेर काम रोकिएको छ व्यवसायी ढकालले भन्नुभयो पहिरो रोकिनासाथ क्षति भएको स्थानमा पुन निर्माण र बाँकी काम सक्छौँ । पुलको माथिबाट पहिरो गएपनि पुलको जमिनको भाग ठीक भएका कारण पुलमा खासै असर नगरेको ढकालको दावी छ ।


ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल र स्याङ्जाको धार्मिक एवं ऐतिहासिक स्थल आलमदेवी जोड्ने गरी पुल निर्माण भएपनि काम समयमै नहुँदा स्थानीय बासिन्दा भने चिन्तित छन् । पुलको काम पनि ढिला भयो अहिले पहिरो खसिरहेको छ स्याङ्जाका स्थानीय बासिन्दा मोहन रानाले भन्नुभयो पहिरोले पुललाई असर गरेको छ, अध्ययन् गरेर सम्बन्धित पक्षले छिटो पुल बनाउनुपर्छ ।


यो कालीगण्डकी पुलको लम्बाई १८० मिटर रहेको छ । पायल विधिमा आधारित यो पुल स्थानीय सडक सञ्जाल अन्तर्गतको परियोजना हो । समयमा काम नभएको, बीचमा ढिलासुस्ती गरेको निर्माण व्यवसायीले गतवर्ष धेरै काम गरेको थियो तर सम्पन्न गर्न सकेन ।

सडक विभागले पुलनिर्माण गर्दा विस्तृत अध्ययन प्रतिवेदन बनाएर निर्माण स्थलको प्राविधिक सर्भेका आधारमा निर्माण व्यवसायीलाई डिजाइन स्टमेट गर्न दिएर पुल बनाउने कार्य गर्दै आएको छ । रानीघाटको कालीगण्डकी पुल निर्माण व्यवसायी स्वयम्ले डिजाइन स्टमेट गरेको पुल हो ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update