Erani Mahal
तानसेनको विकासमा सहकारीले लगानी गर्नुपर्दछ : प्रमुख शाही
Shreenagar-Sahakari

पाल्पा– तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले सहकारीमार्फत् परिचालन हुने रकमलाई नगर विकासमा परिचालन गर्न आग्रह गर्नुभएको छ । उहाँले सहकारी भनेकै एकापसमा सहकार्य गरेर जाने माध्यम भएकाले यसलाई सुदृढ बनाएर अघि बढाउनपर्नेमा जोड दिनुभयो ।
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था तानसेनको १९ औ साधारणसभामा बोल्दै उहाँले तानसेनका सहकारीमा मात्र १ अर्व ३५ करोड रुपैया परिचालन भएको बताउनुभयो ।

उहाँले यस्तो अवस्थामा सो रकम नगर विकासमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख शाहीले तानसेनका सबै सहकारीलाई आग्रह गर्दै बचत र ऋणको मात्र कारोबार गरेर नपुग्ने बताउनुभयो । उहाँले सहकारीले सामाजिक उत्तरदायित्वसंँग जोडिर, नगरको हरेक किसिमका विकासको क्षेत्रका लगानी गर्न आग्रह गर्नुभयाे । सहकारीमा आर्थिक रुपमा विपन्न भएकादेखि उच्च तहका व्यक्तिहरुको समेत बराबर हैसियत रहने बताउनुभयो । उहाँले नगरको आवश्यकतालाई हेरेर उत्पादनमुलक क्षेत्रका आगामी दिनमा लगानी गर्न सहकारी संस्थाहरुलाई नगर प्रमुख शाहीले आग्रह गर्नुभयो ।


सहकारीमा लाखौ जनता जोडिएका छन्, अरवौ रकम संचित भएर बसेको छ । यो रकम लाई नगर सरकारले ग्यारेन्टीमा नगरको विकास निर्माण तथा आयमुलक, उत्पादनमुलक क्षेत्रमा लगानी गर्न स–सानो पुँजी भएका सहकारीहरु लाई मर्ज गरेर उद्देश्यमुलक काम गर्न उहाँले भन्नुभयाे । पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता बढ्दै गएकाले सबै वित्तिय क्षेत्रमा जस्तै सहकारीलाई पनि यस्तो समस्याले सताउन सक्नेसमेत उहाँले बताउनुभयो । उहाँले उत्पादन र आर्थिक आयआर्जनका क्षेत्र खोजेर लगानी गर्नुपर्ने अवस्था आएको बताउँदै दुई वा दुई भन्दा बढी सहकारीलाई एकीकरण गरेर अघि बढ्नु पर्ने नीति आएपनि अहिलेसम्म यस्तो कार्य गर्न नसकिएको बताउनुभयो । सहकारी आफैले सुरु गरेकाले यसैमा व्याज पनि पाइने र ऋण पनि पाइने भएकाले यसैबाट कारोबार गर्न सदस्यहरुलाई उहाँले सुझाव दिनुभयो ।


श्रीनगर सहकारीले पनि साना पुँजी संकलन गरेर साहुको ऋण काढ्न नपर्ने गराएको उहाँले बताउनुभयाे । जिम्मेवार रहेर आगामी दिनमा साना पुँजी भएका, विपन्न वर्ग, निमुखा जनतालाई यस सहकारीले एकिकृत गर्दै उनीहरुको जीवनस्तर वृद्धि गर्न लगानी गर्नु पर्नेमा सुझाव उहाँले दिनुभयाे ।

जिल्ला सहकारी संघका सदस्य भेषराज सुवेदीले बचतको कारोबार मात्र नगरी आयआर्जनका क्षेत्रमा सहकारीको रकमलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्ला सहकारी संघले यस्ता विषयमा धेरै पटक छलफल पनि चलाएको बताउनुभयो । बचत र ऋणको काम मात्र नभएर अन्य क्षेत्रमा पनि सहकारीले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


सहकारीका अध्यक्ष मेघराज शर्माले सहकारीले सुरुमा जुन उद्देश्यले खुलेको हो त्यही अनुसार नै साना बचतकर्तालाई सधै सम्मान गर्ने गरेको बताउनुभयो । उहाँले बहुउद्देश्यीय भएकाले यसले धेरै काम गर्न सक्ने बताउँदै अहिले प्रभु मनी टान्सफरको रेमिट सेवा सुरु गरेकाले आगामी दिनमा थप नयाँ कार्यक्रम गर्ने बताउनुभयो । प्रत्येक सदस्यलाई दुर्घटना बीमाको कार्यक्रम ल्याएकाले आगामी दिनमा अझ सुविधा थप्दै लग्ने उनले बताउनुभयो । उहाँले राम्रो काम गर्ने र नराम्रो काम गर्ने सहकारीलाई एकै स्थानमा राखेर मूल्यांकन गर्न नहुने बताउनुभयो ।


श्रीनगर सहकारीले वास्तविक सहकारीको मर्म अनुसार काम गरेको बताउँदै सहरमा भएपनि ग्रामीण भेगमा रहेकाले जस्तै साना पुँजीलाई संकलन गरेको बताउनुभयो । संस्थाका उपाध्यक्ष झपेन्द्र गहिरेले श्रीनगर सहकारीले न्यून आय भएकाहरुलाई पुँजी लगानी गरेर आत्मनिर्भर गराउनेतर्फ लागेको बताउनुभयाे । सहकारीका सचिव भरत शर्माले संस्थाको गतिविधिका साथै यसले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा आफ्ना धारणा राख्नुभयो । संस्थाका कोषाध्यक्ष बेदराम श्रीसले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय प्रस्तुत गर्नुभयो । यस्तै लेखा समितिका संयोजक मधुकर काफ्लेले लेखा प्रतिवेदन प्रस्तुत गर्दै चालु र आगामी बर्षको आय व्यय प्रस्तुत गर्नुभयो । अघिल्लो वर्षको ५ करोड १९ लाख ६३ हजार र चालु आर्थिक वर्षका ५ करोड ८१ लाख ८९ हजारको विवरण प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा महिला बहुउद्देश्यीय सहकारी संस्था लि.की उपाध्यक्ष मीना थापा शारदा नेपाल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका सचिव परशुराम पौडेल, श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष रामजी पौडेल, संस्थाका सल्लाहकार बुद्धीप्रसाद शर्मा लगायतले सहकारीले साना बचतकर्ताको रकमलाई सुरक्षित गर्दै लगानी गर्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।सहकारीमा उत्कृष्ट बचतकर्ता बचतकर्ता बेलबहादुर सुनार, रामबहादुर जीसी, आराध्या कार्की, शौभाग्य श्रेष्ठ, डिलबहादुर श्रेष्ठलाई सम्मान गरियो ।


त्यसैगरी कर्जा प्रवाहतर्फ वीरबहादुर गाहा, पूर्णदेवी राई, कमला कुमाल, रुमकला मल्ल, सावित्रा पोखरेलाई सम्मान गरेको छ । बालबचततर्फ सुगत भट्टराई र सन्ध्या शर्मालाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरियो । साथै संस्थामा लामोसमयदेखि काम गर्दै आएका प्रबन्धक कविता नेपाल, लेखापाल रोजी राना, बजारप्रतिनिधिहरु मीना पोखरेल, तमसरी सारु, मुना श्रेष्ठ, कार्यालय सहयोगी रोशनी रानालाई नगदसहित सम्मान गरियो भने कार्यालयमा काम गरेका पूर्वकर्मचारीहरु निरु मल्ल र सुमन विष्टलाई पनि सम्मान गरियो ।


साधारण सभाले आयव्यय, खर्च अनुमोदन गर्नुका साथै लेखापरीक्षक नियुक्ति समेत गरेको छ । कार्यक्रम सहकारीका अध्यक्ष मेघराज शर्माको अध्यक्षता, उपाध्यक्ष झपेन्द्र गहिरेको स्वागत र सचिव भरत शर्माको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update