Erani Mahal
मासु र दुधमा पाल्पा जिल्ला आत्मनिर्भर
122_1024x1024-1

जिल्लामा उत्पादित मासुमध्ये ४० र दुध ५० प्रतिशत बाहिर निकासी हुन्छ

पाल्पा – जिल्लालाई आवश्यक पर्ने दुध र मासु अन्य स्थानबाट आयात गर्न नपर्ने भएको छ । पछिल्लो समय जिल्लाभित्र व्यावसायिक किसानहरूको सङ्ख्या बढ्दै गएपछि पाल्पाका लागि आवश्यक पर्ने दुध र मासु अन्य स्थानबाट आयात गर्न नपर्ने भएको हो ।


पाल्पा जिल्लालाई आवश्यक भन्दा बढी दुध अहिले पनि बाहिरी जिल्लाहरूमा निर्यात हुँदै आएको छ । पाल्पामा अहिले ४९ हजार आठ समय मेट्रिकटन दुध उत्पादन हुँदै आएको छ । तर पाल्पाका लागि आवश्यक दुधको परिमाण २४ हजार मेट्रिकटन मात्र हो । पाल्पाका लागि आवश्यकभन्दा झण्डै ५० प्रतिशत दुध बढी हुन्छ । उक्त दुध छिमेकी जिल्लाहरू तम्घास, स्याङ्जा, पोखरा र बुटवल निर्यात हुने भेटेनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा. चन्द्रबहादुर रानाले बताउनुभयो ।


पाल्पा जिल्ला विगत पाँच वर्षदेखि नै दुधमा आत्मनिर्भर छ । व्यावसायिक पशुपालक किसानको सङ्ख्या बढ्दै जादा दुध उत्पादन समेत बढेको छ । पाल्पा जिल्लामा अहिले कम्तीमा पाँच देखि ४० वटा गाईभैँसी भएको ९३ वटा फार्महरू दर्ता भएर सञ्चालन भएका छन् ।

गत वर्ष पाल्पा जिल्लामा गाईबाट १५ हजार सात सय मेट्रिकटन दुध उत्पादन भएको थियो भने ३४ हजार एक सय दुध उत्पादन भएको तथ्याङ्क छ । बढी भएको दुधबाट जिल्लामा छुर्पी समेत बन्ने गरेको छ ।


यस्तै मासुका लागि व्यावसायिक रुपमा खसी, बोका, कुखुरा, बङ्गुर र पाडो पाल्ने क्रम समेत पाल्पामा बढेको छ । पाल्पामा अहिले पनि नौँ हजार पाँच सय बढी मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित मासुको ३९ प्रतिशत जिल्लाका लागि आवश्यकता भन्दा बढी छ । पाँच हजार मेट्रिक टन मासु एक वर्षमा पाल्पाका लागि आवश्यक हो तर बढी भएर विभिन्न जिल्लामा निर्यात हुँदै आएको पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक युवराज ज्ञवालीले जानकारी दिनुभयो ।


मासु उत्पादनका लागि पाल्पामा मुख्यत खसी बोका, कुखुरा, बङ्गुर, पाडो, भेडा, हाँस पाल्ने गरिन्छ । जिल्लामा सबैभन्दा बढी राँगो÷भैँसीको मासु उत्पादन हुन्छ । खसीबोका र कुखुराको मासु समेत उत्पादन बढेपछि पोखरा र बुटवलमा निर्यात हुने गरेको छ । जिल्ल्लामा हरेक वर्ष मासु उत्पादन गर्ने व्यावसायिक किसानहरूको सङ्ख्या बढ्दै गएपछि उत्पादन बृद्धि हुँदै गएको हो ।


पाल्पामा मासु उत्पादन गर्ने व्यावसायिक बाख्रा फार्म ८२ वटा, बङ्गुरका ५४ वटा फार्म र कुखुराका एक सय ८० वटा ठूला तथा मझौँला फार्म रहेको जिल्लास्थित पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । कृषि फार्महरू थपिने क्रम समेत हरेक वर्ष बढ्दै गएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update