X
10
Shares

पाल्पाकाे रामपुरमा किरियापुत्रीकाे घरमा भेटी-पेटिका राख्न सुरू

सीता डाेटेल || ११ आश्विन २०७६,शनिबार ११:२३

पाल्पा – घरका सदस्य गुमाएर काजकिरियामा रहेका परिवारलाई भेट्न जादा बजारका फलफुल लैजाने प्रचलनले फलफुल सड्ने अबस्था आएपछि नेपालमा नै पहिलो पटक पाल्पाको रामपुरमा भेटिपेटिकाको शुरुवात गरिएको छ ।


रामपुर नगरपालिका वडा नम्बर ७ ले टोल विकास संस्था र स्थानीयसँगको सल्लाहमा दुःख परेका घरमा पु¥याउन मिल्ने गरि भेटिपेटिकाको शुरुवात गरेको हो । सामाजिक संस्कार अनुसार परिवारको निधनमा शोकमा रहेका परिवारलाई समवेदना दिन पुग्नेहरुले भेटि लैजानुपर्ने विश्वास छ ।


आफन्ती, छिमेकी, मलामी, शुभेच्छुकले पुरानो चलन अनुसार चामल, घिउ, चिनी लैजाने भएपनि नजिकका बाहेक प्रायः अन्य शुभेच्छुकले बजारका फलफुल लैजाने प्रचलन बढेपछि बिषादी युक्त, बजारमा कहिले आएका फलफुल लैजानुपर्ने बाध्यताका बिच फलफुल सड्ने र अप्रत्यक्ष रुपमा स्थानीय रकम विदेशिने भएपछि स्थानीय बुद्धिजीवीको सल्लाहबाट भेटिपेटिकाको सोच आएको रामपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष तिर्थ प्रसाद पंगेनीले बताउनुभयो ।


प्रायः १३ दिनसम्मको काजकिरिया भित्र आएका त्यस्ता भेटि सोही समयावधिमा सक्काउनुपर्ने मान्यताले इष्टमित्रले ल्याएका फलफुल कुहिएर/सडेर फाल्नुपर्ने अबस्था सिर्जना हुने भएकोले सामान्यतया मतपेटिकामा सङ्कलन भएको रकम परिवारले काजक्रियामा खर्च गर्न सक्ने मनसायले भेटिपेटिकाको शुरुवात गरेको अध्यक्ष पंगेनीको भनाई छ ।


मृत्यु संस्कार अबधिमा आउने भेटिको सही सदुपयोग होस् भनेर वडा नम्बर ७ को नेपालमै पहिलो पृथक अभियानले सकारात्मक सन्देश दिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । एकातर्फ खाली हात जान नहुने विश्वास छ, अर्काे तर्फ सहजताका लागि बजारबाट फलफुल लैजानुपर्ने अबस्थाले प्रयोगमा नआउने फलफुल थुपार्नु साटो अन्तिम संस्कारको खर्च वा परिवारले चाहेमा सामाजिक काममा लगाउन पनि भेटिपेटिका उपयुक्त छ नगरप्रमुख थापाले भन्नुभयो ।

हेर्दा, सुन्दा सामान्य लाग्नसक्छ तर यसको सन्देश ठुलो रहेको उहाँको भनाई छ । घरबाट लिएर हिडेको भेटि अन्य घरमा पसाल्न नहुने, बार र समय मिलाएर सम्बन्धित बिजोर पुन्य तिथि मात्र चामल, चिनी, घिउ लैजानुपर्छ भन्ने भनाई र मानिसको व्यस्तताले बजारबाट फलफुल लैजान सहज भएपछि पछिल्लो समय फलफुलको चाङ्ग हुने तर प्रयोगमा निकै कम आउने हुँदा भेटिपेटिकाको उपयुक्तता बढेको स्थानीय दोवराज तिवारीले बताउनुभयो । आफ्नै जुठो चल्ने मान्यताका परिवार बाहेक अन्य शुभेच्छुकबाट ल्याएका भेटि जिन्सीमा नभई नगदका रुपमा सङ्कलनको लागि नयाँ प्रयोग स्वरुप भेटिपेटिकाको शुरुवात गरेको वडा सचिव गीता पौडेलले बताउनुभयो ।


धार्मिक परम्परालाई तोड्ने नभई भेटीको सहि सदुपयोग होस् भन्ने हेतुले वडाले बार्षिक समिक्षाको अबसरमा भेटिपेटिका कार्यान्वयनको घोषणा गरेको हो । जुन घरमा दुःख पर्छ सोही स्थानमा टोल विकास संस्थाले लैजान मिल्ने गरि वडा कार्यालयमा पेटिका राखिएको छ । एकै अबधिमा अरु घरमा दुःख परेको खण्डमा भेटिपेटिका उपलब्ध गराउने गरि अब अन्य स्थानमा पनि यसले सकारात्मक सन्देश दिने गरि कार्यान्वयनमा लैजाने वडाबासीको भनाई छ । वडाले घोषणा गरेको कार्यको वडाबासीहरुले प्रशंसा गरेका छन् ।

उनीहरुले देश मै पहिलो कार्यक्रमको रुपमा रहेको भन्दै यसको अन्य स्थानले पनि अनुशरण गर्नु आवश्यक रहेको बताए । गाउँठाउँको चलनचल्तीलाई एकैसाथ परिस्कृत गर्नु चुनौती भएपनि यसको महत्व बढी भएकाले केही समयमा यसको प्रयोग फैलिने शहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले बताउनुभयो । केही बर्ष अघि विवाहमा गर्दुवामा भाडाकुडा भरिभराउ हुन्थे अहिले रकम नै दिने प्रचलन बढेजस्तै दुःख परेका घरमा भेटिपेटिकाको प्रयोग यसैगरि परिस्कृत हुने विश्वास स्थानीयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys